News

निर्वाचनका कार्यक्रम लिएर अायाेग स्थानीय तहमा पुगिसक्याे - प्रमुख निर्वाचन अायुक्त

निर्वाचनका कार्यक्रम लिएर अायाेग स्थानीय तहमा पुगिसक्याे - प्रमुख निर्वाचन अायुक्त
वैशाख - १८ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले मङ्गलबार हुने उम्मेदवारी मनोनयनसहितका सम्पूर्ण कार्यक्रम स्थानीय तहमा पुगिसकेको बताएका छन् । स्थानीय तह निर्वाचनको सन्दर्भमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकसँग आयोग परिसरमा भएको अन्तरक्रियामा उनले भने ‘ऐतिहासिक महत्व बोकेको स्थानीय तहको निर्वाचनका सम्पूर्ण कार्यक्रम लिएर आयोग नगरपालिका र गाउँपालिकामा पुगिसकेको छ ।’ ‘स्थानीय सरकारको अवधारणामा हुन लागेको निर्वाचनले स्थानीय तहमै कानुन निर्माण गर्नेसम्मको अधिकार स्थापित गर्ने भएकाले स्थानीय तह निर्वाचन अत्यन्त महत्वपूर्ण र ऐतिहासिक रहनेछ’ प्रमुख निर्वाचन आयुक्त यादवले भने । निर्वाचन आयोगले विगत तीन वर्षदेखि लैङ्गिक र समावेशी नीतिका आधारमा निर्वाचन कार्यक्रम सञ्चालन गर्दै आएको बताउँदै उनले स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न चाहने अल्पसङ्ख्यक, दलित र महिलाको मनोनयन दर्तामा ५० प्रतिशत छुटको व्यवस्था गरिएको जानकारी दिए । यौनिक तथा अल्पसङ्ख्यक समुदायको तर्फबाट सहभागी पिङ्की गुरुङले मुलुकमा राजनीतिक परिवर्तनका लागि भएका आन्दोलनमा अग्रमोर्चामा रहेर निर्णायक भूमिका निर्वाह गरेको भए पनि आफूहरुले पुर्याएको योगदानलाई ओझेलमा पार्ने काम भएको टिप्पणी गरे ।स्थानीय तहको निर्वाचनमा मुलुकका ४० जिल्लाका १४३ जना तेस्रो लिङ्गीले मतदानको अधिकार प्राप्त गरेको आयोगले जनाएको छ ।

डा अयोधीप्रसाद यादव

विशेष