चुनाव हुने संकेत भारतबाट आयो निर्वाचनको लागि ८६ वटा गाडीहरु (भिडियोसहित)
स्थानीय निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगलाई भारत सरकारले ८६ वटा गाडी हस्तान्तरण गरेको छ। निर्वाचन आयोगको परिसरमा नेपालका लागि भारतीय राजदूत मन्जिवसिंह पुरीले गाडीको चाबी प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवलाई हस्तान्तरण गरे। भारतले ८ करोड ९ लाख बराबरको गाडी आयोगलाई दिएको हो। जसमा ३५ वटा पिक अप भ्यान, ३० वटा मोटरसाइकल, ७ वटा स्कोरपियो जिप, ७ वटा स्कुटर, ५ वटा कार, एउटा मिनीबस र माइक्रो बस रहेको छ।
भारतीय राजदूतावासले स्थानीय तहको निर्वाचन गर्न लागेकोमा नेपाल सरकारलाई बधाइ दिँदै स्वच्छ र निष्पक्ष ढंगले निर्वाचन सम्पन्न गर्न आयोगलाई शुभकामना दिएको छ। 'नेपालले प्रजातन्त्र सुदृढिकरणका लागि गर्ने हरेक गतिविधिमा भारत सरकारको समर्थन रहन्छ' दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ 'नेपालको शान्ति, स्थायित्व र सामाजिक आर्थिक रुपान्तरणका लागि भारत सरकारको तर्फबाट सदैव सहयोग हुनेछ।' दूतावासले प्रजातन्त्रको सुदृढिकरणका लागि गर्ने सहयोग अन्तर्गत नै गाडी हस्तान्तरण गरेको विज्ञप्तिमा उल्लेख गरेको छ। राजदूत पुरीले प्रजातन्त्रको सुन्दर पक्ष भनेको स्वच्छ र निष्पक्ष आवधिक निर्वाचन हो भन्दै भारतीय जनता र सरकारका तर्फबाट नेपाल सरकारलाई धन्यवाद दिएका छन्।