News

निर्वाचनलाई लक्ष्य गरी सात महत्वपूर्ण क्षेत्रहरुमा निषेधित क्षेत्र घोषणा, यी हुन् निषेधित क्षेत्र

निर्वाचनलाई लक्ष्य गरी सात महत्वपूर्ण क्षेत्रहरुमा निषेधित क्षेत्र घोषणा, यी हुन् निषेधित क्षेत्र
वैशाख - १८ । स्थानीय तह निर्वाचनका बेला सुरक्षालाई मजबुत बनाउन चितवन जिल्ला सुरक्षा समितिले सात महत्वपूर्ण क्षेत्रहरुमा निषेधित क्षेत्र घोषणा गरेको छ । सुरक्षालाई मजबुत बनाउन साेमबारदेखि मतगणना नभएसम्मका लागि निषेधित क्षेत्र घोषणा गरिएको हो । भरतपुर महानगरपालिकाको पूर्वमा वाइपासरोड, पश्चिममा त्रिचोक, उत्तरमा रमाइलोचोक र दक्षिणमा केन्द्रीय बस टर्मिनलसम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको प्रहरी उपरीक्षक दीपक थापाले बताए । ती क्षेत्रमा सुरक्षा निकायसहित सम्पूर्ण सरकारी कार्यालय रहेका छन् । त्यस्तै, रत्ननगर नगरपालिकाको बकुलहरचोक, हरिहरमन्दिर, टिकौली र बकुलहर माविदेखि शान्तिचोकसम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । खैरहनी नगरपालिकाको पूर्वमा मालपोत, पश्चिममा भुवानीशङ्कर कलेज, उत्तरमा नेपाल आदर्श मावि र दक्षिणमा दूरसञ्चार कार्यालयसम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । कालिका नगरपालिकाको पूर्वमा सिर्जना चोक, पश्चिममा भालुखोला, उत्तरमा पदमपुरको ३ नं बाटो र दक्षिणमा लङ्कालाइनदेखि टाँडी जाने बाटोसम्मलाई निषेधित क्षेत्र घोषणा गरिएको प्रहरी उपरीक्षक थापाले जानकारी दिए । त्यसैगरी, राप्ती नगरपालिकामा पूर्वमा गढीमाई गणको सुरक्षा जाँच पोस्ट, पश्चिममा लोकमार्गको मनकामना चोक, उत्तरमा चेपाङ मार्ग चौकीडाँडाचोक र दक्षिणमा प्यारीढाप गाउँसम्मका क्षेत्रलाई पनि निषेधित क्षेत्र घोषणा गरिएको छ । माडी नगरपालिकाको पूर्वमा बघौडा मध्यवर्ती सामुदायिक वनको कार्यालय, पश्चिममा सत्यसाई पेट्रोलपम्प, उत्तरमा विक्रमबाबा चलचित्र भवन र दक्षिणमा विद्युत् प्राधिकरणको कार्यालयसम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । जिल्लाको एकमात्रै गाउँपालिका इच्छाकामनाको पूर्वमा नयाँबस्ती जाने बाटो, पश्चिममा सशस्त्र प्रहरीको तालिम केन्द्र जाने बाटो, उत्तरमा पृथ्वी राजमार्ग र दक्षिणमा रोशन सिलवालको बारीसम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको थापाले जानकारी दिए । ती क्षेत्रमा मुख्य निर्वाचनको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयसमेत रहेका छन् । निषेधित क्षेत्रमा जुलुस, धर्ना, आमसभा, कोणसभालगायतका कार्य गर्न निषेध गरिएको उनले बताए । सुरक्षा समितिले सम्भावित दङ्गाग्रस्त क्षेत्रसमेत पहिचान गरी आवश्यक सुरक्षा प्रबन्ध गरेको थापाले जानकारी दिए ।

nirbachan निषेधित क्षेत्र

विशेष