विदेश

उडिरहेको विमान खराब मौसमका कारण असन्तुलित, २७ यात्रु घाइते

उडिरहेको विमान खराब मौसमका कारण असन्तुलित, २७ यात्रु घाइते

वैशाख १९ । मस्कोबाट बैंककतर्फ आउँदै गरेको एउटा विमान खराब मौसमका कारण अचानक अनियन्त्रित हुँदा २७ यात्री घाइते भएका छन् ।

रुसी अधिकारीहरुका अनुसार उडानका क्रममा एरोफ्लोट एयरलाइन्सको विमान खराब मौसमका कारण अनियन्त्रित भएको थियो । घाइतेमध्ये केहीको हाडसमेत भाँचिएको बताइएको छ । घाइते तीन यात्रीको शल्यक्रिया गर्नुपरेको अधिकारीहरुको भनाइ छ । अन्यलाई भने सामान्य चोट लागेको छ ।

थाइल्याण्डस्थित रुसी दुतावासका अनुसार घाइतेमध्ये २४ जना रुसी नागरिक छन् । एयरलाइन्स कम्पनीले जनाएअनुसार सीट बेल्ट नबाँधेका यात्रीहरु उछिट्टिएर घाइते भएका हुन् ।

विमानका पाइलट एलेक्जेन्डर रुजोभका अनुसार आकाश सफा नै रहेका कारण प्रतिकुल मौसमको पूर्वानुमान नै थिएन । ३ सय १३ यात्री सवार विमान बैंकक विमानस्थलमा अवतरण गर्नुभन्दा करिब ४० मिनेट अघि आकाशमा अनियन्त्रित भएको थियो ।

विशेष