News

छात्रा बेहोस हुँदा डाक्टरलाई निषेध !

छात्रा बेहोस हुँदा डाक्टरलाई निषेध !

वैशाख २० । छात्राहरू बेहोस हुन थालेपछि जुम्लाका केही अभिभावकले डाक्टरलाई निषेध गरेर धामीझाँक्रीबाट उपचार खोजेका छन् ।

जिल्लाका विभिन्न विद्यालयमा छात्राहरूमा टाउको दुख्ने, शरीर काम्ने र बेहोस हुने समस्या बढेपछि विज्ञ डाक्टरबाट उपचार गर्नुको साटो अभिभावकले धामी भेला गराएका हुन्। तातोपानीस्थित हिमशिखर माध्यमिक विद्यालयमा एकैदिन १५ छात्रा बेहोस हुँदा दुईपटक डाक्टर बोलाइए पनि उनीहरूलाई उपचार गर्न नदिएर १५ वैशाखमा धामी भेला भएको थियो।

प्रधानाध्यापक राजु केसीले दुईपटकसम्म अभिभावक र बिरामी आफैँले डाक्टरबाट छात्राको उपचार गर्न अस्वीकार गरेको बताए। ‘विद्यालयनजिकै मन्दिर र रूख थियो, भत्काएर विद्यालय बन्यो। त्यसपछि बेहोस हुने छात्राहरूले डाक्टर होइन, मन्दिर र रूख चाहिन्छ भनेका छन्,’ प्रधानाध्यापक केसीले भने। डाक्टरबाट उपचार गर्न नमानेपछि १५ वैशाखमा धामी भेला गरिएको थियो। प्रधानाध्यापक केसीका अनुसार भेलामा जिल्लाका विभिन्न ठाउँका ६ धामी बोलाइएका थिए । तर, एक धामीले काम गरेका थिए ।

‘जिल्लामा सबैले मानेको मुख्य धामी भेलामा आउनुभएको थियो, काम गर्नुभएको छैन। उहाँले पूरै ठीक पार्ने बताउनुभएको छ,’ प्रधानाध्यापक केसीले भने। छात्राहरू बिरामी भएपछि विद्यालयसमेत बन्द गर्नुपरेको थियो। यस वर्ष धेरै समस्या जिल्ला शिक्षा अधिकारी कुलबहादुर फडेराले यस वर्ष छात्राहरू बढी बिरामी भएको जानकारी दिए।

गर्मीको समयमा यो समस्या बढी देखिने उनको भनाइ छ। धार्मिक आस्थाका कारण छात्रा बिरामी हुँदा धामीझाँक्री जुटाउने गरेको उनले बताए। स्रोतव्यक्ति रामबहादुर चापागाईंले कक्षा ५ सम्म मात्रै पढाइ हुने विद्यालयमा पनि छात्राहरू काँप्ने, बेहोस हुने समस्या रहेको जानकारी दिए।

धार्मिक आस्थाका कारण कतिपय अभिभावकले डाक्टरबाट उपचार र औषधि दिँदा स्वीकार नगरेको उनले बताए। जिल्लाका छात्रा र उनीहरूका अभिभावकले डाक्टरभन्दा धामीझाँक्रीमा धेरै विश्वास गर्ने गरेको चापागाईंले जानकारी दिए।

नयाँ पत्रिका

विशेष