News

गाउँ बस्तीमा छाउन थाल्यो चुनावी गीत

गाउँ बस्तीमा छाउन थाल्यो चुनावी गीत
वैशाख २१ । स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गएपछि यतिखेर पोखरासहित आसपासका गाउँ र बस्तीमा दलका चुनावी गीत घन्किन थालेका छन् । विभिन्न दल निकट कलाकारले तयार गरेका गीत यतिखेर प्रचारप्रसारमा प्रयोग गरिएका गाडीका साथै आयोजित सभा समारोह र मोबाइलमा निकै प्रयोग गर्ने गरिएको छ । गीतमा विगतमा आ–आफ्ना पार्टीले गरेका कामको बयान गर्दै आसन्न स्थानीय तहमा आफ्ना उम्मेदवारलाई विजयी गराउने गरी लक्षित छन् । स्थानीय तहको निर्वाचनलाई लक्षित गरी नेपाली काँग्रेस कास्कीको सहयोगमा नेपाल सांस्कृतिक संघ, कास्कीले बजारमा ल्याएको चारतारा शीर्षकको एल्बमका गीत यतिखेर पार्टीको चुनाव प्रचारप्रसारमा प्रयोग गरिएको छ । सो एल्बममा ः “उठ हे उठ नेपाली, जाग हे जाग नेपाली । काँग्रेसलाई जिताउन लाग नेपाली, चारतारे झन्डा बोकी लाग नेपाली ।। देशमा शान्ति ल्याएको हो काँग्रेस पार्टीले । रुखमा भोट हालौँ भन्छ मेरो साथीले ।। जस्ता गीत समेटिएको छ । स्थानीय तहकै निर्वाचनका लागि लोक गायक कृष्ण देवकोटाले तयार गरेको ‘आयो काँग्रेस रुख लिएर’ एल्बम पनि यतिखेर बजारमा आएको छ । उक्त एल्बममा ः सपनीमा देखिन्छ रुखमात्रै, अरुको त हो हजुर मुख मात्रै । काँग्रेस पार्टी बलेको दियो हो, आन्दोलनको कमान्डर मियो हो ।। आयो काँग्रेस रुख लिएर, जसरी नि काँग्रेसलाई जिताउँ है रुख चिह्नमा भोट दिएर ।। जस्ता गीत समेटिएको छ । स्थानीय तहको निर्वाचनका लागि जनसांस्कृतिक महासंघ कास्कीको प्रस्तुतिमा ल्याइएको ‘सुख दुःखमा एमाले’ एल्बम यतिखेर गाउँ बस्तीमा घन्कन थालेको छ । उक्त एल्बममा ः “आयो एमाले, लहै आयो एमाले । गाउँ सहर बस्तीबाट आयो एमाले ।। गाउँको झुप्रोबाट आयो एमाले । हिमाल पहाड मधेस तराई आयो एमाले ।। लगायत गीत समेटिएको छ । निर्वाचनलाई लक्षित गरी बजारमा आएको एमालेको ‘मै पनि एमाले’ एल्बम पनि उत्तिकै चर्चित छ । सो एल्बममा ः हजुरबाले भन्नुहुन्छ सूर्यमा भोट हाल्ने, हजुरआमा भन्नुहुन्छ एमाले हो पाल्ने । भोट हाल्न लाहुरबाट आउँछु भन्छन् दाइले, एमालेकै झन्डा बोक्दै हिँडेको छ भाइले ।। जस्ता गीत समेटिएको छ । नेकपा (माओवादीको केन्द्र)को चुनावी प्रचारप्रसारका लागि ‘माओवादी केन्द्रलाई विजयी गराऔँ’ गीत यतिखेर सो पार्टीका चुनाव प्रचारप्रसारका लागि प्रयोग गरिएको छ । उक्त एल्बममा ः गाउँ, सहर, गल्ली, चोक, घर घर जाऔँ । माओवादी केन्द्रलाई विजयी गराऔँ ।। गणतन्त्र ल्याउने पनि माओवादी, राजतन्त्र फाल्ने पनि माओवादी । संविधान बनाउने माओवादी, स्वाधीनताको निम्ती लड्ने माओवादी ।। लगायत गीत रहेका छन् । निर्वाचनलाई लक्षित गरी माओवादी केन्द्र निकट विभिन्न कलाकारका अन्य नयाँ नयाँ गीतले पनि गाउँ सहर गुन्जिएको छ । विगतका निर्वाचनमा चुनावी गीतको प्रयोग निकै कम मात्रामा हुने गरेको बताउने नयाँ बजारका श्याम तिवारी स्थानीय तहको निर्वाचनको सरगर्मी बढेसँगै चुनावी गीतको प्रयोग ह्वात्तै बढेको बताउँछन् । चुनावी गीतलाई आफ्ना मोबाइलको रिङ टोन तथा ब्याक टोन आदिमा प्रयोग गर्ने क्रम पनि निकै बढेको छ । लोकतन्त्रमा कलाकार पनि कुनै न कुनै दलसँग निकट हुने भएका कारण कालाकारको सहयोगमा दलहरूले चुनावी गीत बनाउने क्रम निकै बढेको लोक गायक कृष्ण देवकोटा बताउँछन् ।“कलाकारले चुनावी गीत बनाएर आफू निकट दललाई ठूलो सहयोग पु¥याउने गरेका छन्,” उनले भने । चुनावी गीत निर्माणले सम्बन्धित दललाई प्रत्यक्ष फाइदा पुग्नुका साथै कलाकारको व्यावसायिकताका लागि पनि उपलब्धिमूलक बन्ने गरेको वरिष्ठ लोकदोहोरी गायक प्रजापति पराजुली बताउँछन् ।

विशेष