News

सर्वोच्चको आदेशविरुद्ध सत्तारुढ दलनिकट विद्यार्थीको प्रदर्शन

सर्वोच्चको आदेशविरुद्ध सत्तारुढ दलनिकट विद्यार्थीको प्रदर्शन
वैशाख - २३ । प्रमुख सत्तारुढ दलनिकट विद्यार्थी संगठनले सर्वोच्च अदालतले व्यवस्थापिका–संसदको विशेषाधिकार हनन् गरेको भन्दै विरोध प्रदर्शन गरेका छन् । जननिर्वाचित संसदको अधिकार र कार्यक्षेत्रमाथि हस्तक्षेप भएको भन्दै उनीहरुले शनिबार संयुक्तरुपमा विरोध प्रदर्शन गरेका हुन् । संसदको विशेषाधिकार र संवैधानिक सर्वोच्चताको सम्मान नगरिएको भन्दै उनीहरुले सर्वोच्चको आदेश खारेजीको माग गरेका छन् । प्रदर्शनकारीले शुक्रबार न्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासबाट सर्वोच्चका प्रधानन्यायाधीशमाथिको महाअभियोगका विषयमा जारी गरिएको अन्तरिम आदेश असंवैधानिक भएको भन्दै सो आदेश खारेज गर्न र जननिर्वाचित संसदको अधिकार क्षेत्रको ख्याल गर्न आग्रह गरेका थिए । प्रदर्शनीमार्गबाट सुरु भएको विरोधजुलुस पुतलीसडकचोक पुगेर विरोधसभामा परिणत भएको थियोे । विरोधसभामा नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले असंवैधानिक आदेश तत्काल खारेज गरी संसदको अधिकारमाथि हस्तक्षेप बन्द गर्न आग्रह गरे । ‘साहित्यिक निबन्धको शैलीमा आएको असंवैधानिक आदेश’मा पुनर्विचार गर्न माग गर्दै अध्यक्ष महरले जननिर्वाचित संस्थाको मानमर्दन गर्ने कार्य आफूहरुलाई स्वीकार्य नहुने बताए । अखिल क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले भने संविधानभन्दा माथि कोही पनि नभएको भन्दै संसदको अधिकार क्षेत्र हनन् गर्ने विषय आफूहरुलाई सह्य नभएको बताए । उनले भने–‘सर्वोच्चको पछिल्लो आदेशले संसदको विशेषाधिकार र संविधानको हुर्मत लिएको छ । यो युवा विद्यार्थीलाई स्वीकार्य हुन सक्दैन ।’ कार्यक्रममा नेविसंघका उपाध्यक्ष पुष्पविक्रम शाही, अखिल क्रान्तिकारीका उपाध्यक्ष रञ्जीत तामाङलगायतको सहभागिता रहेको थियोे ।

सर्वोच्च अदालत

विशेष