विदेश

नेपालमै पहिलोपटक प्रदूषणरहित इँटा उत्पादन सुरु

नेपालमै पहिलोपटक प्रदूषणरहित इँटा उत्पादन सुरु
बैशाख - २६ । भक्तपुरको चाँगुनारायण नगरपालिका बागेश्वरीमा जापानी प्रविधिमा नेपालमै पहिलोपटक प्रदूषणरहित इँटा उत्पादन सुरु भएको छ। नेपालका लागि जापानी राजदूत मासासी ओगावाले इँटा उत्पादन गर्ने उद्योग ‘सुपर इको ब्रिक इनोभेसन’को उद्घाटन गरे। कार्यक्रममा राजदूत ओगावाले नेपालमा पहिलोपटक पोल्न नपर्ने इँटा उत्पादन सुरु गरेको बताउँदै यसले वातावरण प्रदूषण नहुने र वातावरण सन्तुलनमा भूमिका निर्वाह गर्ने बताए। यस कम्पनीले उत्पादन गरेको इँटा भवन निर्माणका लागि भरपर्दो रहेको बताउँदै जापानमा लोकप्रिय भइरहेको यो प्रविधि बङ्गलादेशमा पनि सुरु भएको बताए। यो इँटा उत्पादनले दुई वर्षअघि महाभूकम्पका कारण क्षति भएको घरको पुनर्निर्माणका लागि सहयोग पुग्ने बताउँदै उनले नेपालमा यो प्रविधिले इँटा उत्पादन सुखद मात्रै नभई यसले नेपाल र जापानको सम्बन्धलाई प्रगाढ बनाउने बताए। कार्यक्रममा जापानको प्रख्यात कम्पनी इकेन प्रालिका अध्यक्ष हिडियाकी हाचियाले बुद्धको देशमा लगानी गर्न पाउँदा आफूहरु गौरवान्वित भएको बताए। रसायन प्रयोग गरेर इँटा उत्पादन गर्ने विश्वकै पहिलो उद्योग यही रहेको चर्चा गर्दै उनले यो इँटा उत्पादनले सरकारले वायु प्रदूषणमा नियन्त्रणमा गरिरहेको लगानीसमेत कटौती हुने दाबी गरे। उपत्यकामा रहेका इँटाभट्टाले यहाँ ३५ प्रतिशत वायु प्रदूषण गरिरहेको बताउँदै वातावरणमैत्री उद्योग स्थापनाले सामाजिक उत्तरदायित्वसमेत पूरा गर्ने बताए। कार्यक्रममा उद्योगमा प्रबन्ध निर्देशक सुनिल लोहियाले रु २० करोडको लगानीमा सुरु भएको उद्योगले दैनिक एक लाखवटा इँटा उत्पादन गर्ने क्षमता रहेको बताए। यहाँको १०० रोपनी क्षेत्रफलमा फैलिएको उद्योगले २०० जनालाई रोजगारी दिएको बताउँदै यो इँटाले प्लास्टर र रङ्गको प्रयोग गर्नु नपर्ने र पानीसमेत नरसाउने बताए। त्यस अवसरमा उद्योगका अध्यक्ष प्रकाश गिरीले उद्योगबाट उत्पादन हुने प्रत्येक इँटाको मूल्यबाट प्रतिइँटा १० पैसाका दरले रकम सङ्कलन गरी स्थानीयवासीको स्वास्थ्य र शिक्षामा खर्च गरिने बताए। उनले समुदायको स्वास्थ्यमा संवेदनशील भएर प्रदूषणरहित इँटा उत्पादन सुरु गरेको बताउँदै सरकारले गर्नुपर्ने वातावरण संरक्षणको दायित्वमा यस उद्योगले पनि टेवा पुर्याएको बताए। यो उद्योग इकेन प्रालि र नेपालका पाँच उद्योगपतिको संयुक्त लगानीमा सञ्चालनमा ल्याएको हो।

UN

विशेष