News

राजनीतिक दल दर्तासम्बन्धी ऐन संशोधन हुने

राजनीतिक दल दर्तासम्बन्धी ऐन संशोधन हुने

काठमाडौँ: सरकारले आगामी असार २४ गते हुने स्थानीय तह दोस्रो चरणको निर्वाचनमा सबै दललाई सहभागी बनाउन राजनीतिक दल दर्तासम्बन्धी ऐन, २०७३ संशोधन गर्न तयारी थालेको छ । सिंहदरबारमा अाइतबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय जनता पार्टी (राजपा) नेपाललाई निर्वाचनमा सहभागी गराउन यससम्बन्धी विधेयक व्यवस्थापिका–संसद्मा दर्ता गर्ने निर्णय गरेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारी यही जेठ ३० गते स्विट्जरल्यान्डको औपचारिक भ्रमणमा जाने भएकाले उक्त भ्रमणलाई बैठकले स्वीकृति दिएको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। राष्ट्रपति भण्डारी अन्तर्राष्ट्रिय श्रम सङ्गठनका महानिर्देशकको निमन्त्रणामा अन्तर्राष्ट्रिय श्रम सम्मेलनको जेनेभामा हुने १०६औँ अधिवेशनको सत्रमा प्रमुख वक्ताका रुपमा सम्बोधन गर्न स्विट्जरल्यान्ड जान लागेकी हुन् ।

त्यस्तै, जापानका विभिन्न विश्वविद्यालयमा ‘जापान डेभलपमेन्ट स्टडिज’ अन्तर्गत अध्ययन गर्न जाने २० जना निजामती कर्मचारीलाई २६ करोड ५३ लाख बराबरको अनुदान सहयोग उपलब्ध गराउने स्वीकृति पनि बैठकले दिएको छ ।

विशेष