विदेश

राष्ट्रपति ट्रम्पको बेलायत भ्रमणको मिति तय भएको छैन– ह्वाइट हाउस

राष्ट्रपति ट्रम्पको बेलायत भ्रमणको मिति तय भएको छैन– ह्वाइट हाउस

अमेरिका: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बेलायतको भ्रमणको मिति तय नभएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले स्पष्ट गरेको छ ।

ह्वाइट हाउसले अमेरिकी राष्ट्रपति र बेलायतका प्रधानमन्त्री थेरेसा मेबीच शुक्रबार टेलिफोन वार्ता भएको स्वीकार गरेको छ । तर पनि राष्ट्रपति ट्रम्पको भ्रमणको बारेमा सो फोनवार्तामा कुनै कुरा नभएको बताएको छ ।

उनीहरुबीच शुक्रबार पछिल्लो पटक टेलिफोनवार्ता भएको थियो तर पनि सो वार्ताका क्रममा उक्त भ्रमणका विषयमा भने कुनै कुरा भएको छैन– ह्वाइट हाउसद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

यसअघि नै बेलायतका प्रधानमन्त्री मेले राष्ट्रपति ट्रम्पलाई बेलायत भ्रमणको निमन्त्रण दिएकी थिइन् । तर उनको भ्रमणको मितिको बारेमा अझै निश्चित भएको छैन ।

सो भ्रमणका बारेमा शुक्रबारको फोनवार्तामा छलफल भएर मिति तोकिएको अनुमानसहितका समाचार बाहिर आएका थिए । सो समाचारपछि ह्वाइट हाउसले उक्त विषयमा स्पष्ट गरेको हो ।

बेलायतमा राजनीतिक अस्थिरता र विवाद बढ्दो रुपमा रहेका छन् । केही दिनअघि भएको मध्यावधि निर्वाचनपछि राजनीतिक अस्थिरता झन् बढ्दो देखिन्छ ।

सोही कारणले पनि राष्ट्रपति ट्रम्पले तत्कालै बेलायत भ्रमण गर्ने विषयमा कुनै सोच नबनाएकाे सो कार्यालयले जनाएको छ । सो कार्यालयका अनुसार हाल राष्ट्रपति ट्रम्पले भ्रमण गर्दा बेलायतमा रहेको राजनीतिक अस्थिरताको असर उनको भ्रमणमा पनि पर्नसक्छ ।

शुक्रबार बिहान भएको सो कुराकानीमा उनको भ्रमणको विषयमा भने प्रशङ्ग चलेको बताइएको छ । तर सो भ्रमणको मितिका विषयमा भने कुनै निर्णय भइनसकेको ह्वाइट हाउसका एकजना वरिष्ठ अधिकारीले जानकारी दिएका छन् ।

राष्ट्रपति ट्रम्प जापान र दक्षिण कोरियाको भ्रमणमा पनि जाने कार्यक्रम छ । तर ती भ्रमणका मिति भने सार्वजनिक गरिएको छैन । राष्ट्रपति ट्रम्प आगामी महिना जर्मनी, पोल्यान्ड र फिलिपिन्सको पनि भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

सोही समयमा उनी बेलायत पनि आउनसक्ने गरी भ्रमणको कार्यक्रम बन्नसक्ने भनी समाचार आइरहेका छन् । केही दिनमात्र अघि भएको लन्डन ब्रिजको आतङ्ककारी हमलामा राष्ट्रपति ट्रम्पले लन्डनका मेयरको तिखो आलोचना गरेका थिए।

उनले सो हमलामा लन्डनका मेयर सादिक खानको जिम्मेवारीको कमीको विषयमा कुरा उठाएका थिए । उनको सो प्रतिक्रियाको बेलायत र अमेरिकामा पनि व्यापक मात्रामा आलोचना भएको थियो ।

सोही कारण पनि राष्ट्रपति ट्रम्पले बेलायतको भ्रमण गर्दा लन्डनमा उनको स्वागत भव्यरुपमा होला भन्ने विषयमा आशङ्का रहेको कतिपय विश्लेषकहरुले जनाएका छन् । एएफपी

विशेष