News समाज

बोक्सीको आरोपमा कुटपिट गरिएकी मरनीदेवीको नयाँ अवतार

बोक्सीको आरोपमा कुटपिट गरिएकी मरनीदेवीको नयाँ अवतार

जेठ २९ । म स्वयंसेविका हुँ । घरघर आमा र बच्चाको जिउज्यानको हालखबर बुझ्न जान्छु । स्वास्थ्य चेतना फैलाउन खट्छु । सबैले मलाई गाउँको आमा भनेर बोलाएको सुन्दा निकै खुसी लाग्छ, १६ वर्षअघि बोक्सी आरोपमा मरणासन्न हुनेगरी गाउँलेबाट यातना भोगेकी ६० वर्षीय मरनीदेवी भन्नुहुन्छ, जसले मलाई बोक्सी भनेर कुटपिट गरे उनीहरू नै आज मलाई आमा भनेर बोलाउँछन् । बोक्सी हुँदैन भन्ने अहिले सबैले बुझेका छन् ।

स्वयंसेविकाको ड्रेसमा गाउँमै भेटिएकी मरनीले थप्नुभयो, ुबोक्सी भन्दै मलाई कुटियो, बेहोस अवस्थामा पाँच दिन अस्पताल बसेँ । मैले कुनै समयमा पाएको दुःखले महिला अहिले गाउँमा सुरक्षित भएका छन् । गाउँमा बोक्सी भनेर कसैलाई आरोप लाग्दैन । मलाई यसमा निकै खुसी लागेको छ ।

०५८ साल साउनमा गाउँलेले बोक्सी आरोप लगाउँदै अमानवीय व्यवहार गरेको सम्झिँदा मरनी एकाएक भक्कानिनुभयो । उहाँले भन्नुभयो, के बोक्सी हुन्छ  गरिब, एकल महिला नै बोक्सी हुन्छ र यो सब कुरा गलत हो । मैले बोक्सीको आरोपमा धेरै यातना पाएको छु । तर, अब अरू महिला दिदी बहिनीले बोक्सी आरोपमा कुटपिट सहनु पर्दैन । म यसैका लागि पनि ठाउँठाउँमा आवाज उठाइरहेको छ । ४० वर्षदेखि निरन्तर स्वयंसेविका भएर आफ्नै गाउँ महोत्तरीको सिमरदही गाविसमा काम गरिरहेकी उहाँको जीवन अहिले निकै राम्रो छ ।

मरनीको नाममा धेरैले रुपैयाँ कमाए । देशरविदेश घुमे । मैले न न्याय पाएँ । न त सहयोग नै ।


मरनीले विद्यालय शिक्षा लिनुभएको छैन । तर, उहाँ गाउँघरमा महिला दिदीबहिनीलाई गर्भ जाँच गर्नुपर्छ भन्ने सम्झाउँदै टोल टोल घुम्नुहुन्छ । प्रत्येक महिनाको १५ गते गाउँ घर क्लिनिकमा बोलाएर सबै गर्भवती महिलाको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुहुन्छ । मरनीलाई बच्चालाई अनिवार्य रूपमा दिनुपर्ने पोलियो थोपा, दादुरा, डिपिटी सुईको नाम कण्ठै छ ।

१०१२ वर्षको उमेरमा मेरो विवाह भयो । आफ्नै विवाहबारे मलाई थाहा छैन । बुबाआमाले तेरो विवाह सानै उमेरमा भयो भनेर सुनाउनुहुन्थ्यो, उहाँले भन्नुभयो, पहिला गाउँमा बालविवाह हुन्थ्यो । सानै उमेरमा बच्चा जन्मिन्थ्यो । अस्पताल र डाक्टर कहीँ कतै थिएन । मेरो पाँच जना दाजु र दिदी निमोनियाले मरे । म जन्मेपछि सबै सन्तान मरेको भन्दै मेरो बुबा आमाले मरनी भनेर नराम्रो नाम राखिदिए । म बाँचे पनि, जनचेतना अभावमा गर्भवती महिलाले गर्भजाँच नगराउने, शरीरमा रगतको मात्रा कम भएपछि आइरन चक्की नखाने, कुनै पनि खोप बच्चाले नपाउने कारणले आफ्नो टोलमा धेरै बच्चा अकालमै मरेको उहाँको अनुभव छ।

मलाई बोक्सी भनी कुटपिट गरेपछि म समाजसेवामा लागें । बोक्सी पीडित हुनुभन्दा पहिला पनि म स्वयंसेविका नै थिए । बोक्सी भन्दै मेरो हातको पोलियो थोपा बच्चालाई खुवाउँदैनथे । म बोक्सी पीडित भएपछि गाउँमा जनचेतनामूलक कार्यक्रम आयो । अहिले त मेरो हातबाट सबैले पोलियो थोपा आफ्ना बच्चालाई खुवाउँछन् ।

मरनीको घरका सबै १३ सदस्य साक्षर छन् । मरनीले प्रौढ कक्षाबाट आफ्नो नाम लेख्न सिक्नुभएको छ । छिमेकी निरसन साहको १० वर्षीय छोरालाई टुनामुना गरी मारेको भन्दै उनीसहितका १६ जनाले मरनीलाई धामी बोलाएर बोक्सीको आरोप लगाउँदै मरणासन्न हुने गरी शारीरिक तथा मानसिक यातना दिएका थिए ।

०५८ साल असार ३ गते मरनीले आफ्नो कान्छो छोरा वीरेन्द्र साहको विवाह गर्नुभएको थियो । सोही अवसरमा असार ५ गते घरमा पूजा आयोजना गरिएको थियो । पूजा हेर्न निरसन साहका १० वर्षीय छोरा आएका थिए । आँगनमा आएका निरसनका छोरालाई २ रुपैयाँ दिएर पूजामा बत्ती बाल्न पसलबाट कपुर किनेर ल्याउन भने । उनले ल्याए पनि । एक छिनपछि पूजा हेर्दाहेर्दै उनी मेरो आँगनमा बेहोस भए, मरनीले भन्नुभयो, आँगनबाट बाहिर लगियो । उनको ज्यान गइसकेको थियो । बच्चा छारेरोगी थिए ।

बच्चाको मृत्युपछि बच्चाका अभिभावकले मरनीले टुनामुना गरी मारेको शंका गर्न थाले । धामी बोलाइयो । कसैले पनि मरनीलाई बोक्सी भनेनन् । पछि २५ हजार भारु रुपैयाँ लिने सर्तमा ३०—४० जना स्थानीयको आग्रहमा भारतबाट धामी ल्याइयो । गाउँकै लक्ष्मीनारायण स्कुलको आँपको बगैंचामा ठूलो पूजा लगाइयो । ०५८ साल साउन २९ गते सोमबार राति केही गाउँले र धामीले एउटा योजना बनाए । गाउँमा ढोल पिटाएर भनियो, पूजाको प्रसाद कोही खान नगए त्यसलाई ५० हजार जरिवाना हुनेछ ।

सबै डराएर साउन ३० गते प्रसाद खान गए । सबै लाम लागे सबैलाई आरीमा राखेको प्रसाद दिइयो । मेरा लागि छुट्टै बेहोस पार्ने विष हालेको प्रसाद दिइयो, मैले खाएँ, पूजाको प्रसाद नखाने बोक्सी ठहरिने भनिएको थियो।

प्रसाद खाएर आइसकेपछि मरनी घरमा बेहोस भएर ढल्नुभयो । गाउँलेले उहाँलाई उठाएर गाउँको थान मन्दिर मा लगेर राखे । त्यहीँ कुटपिट गरियो । छाताको कुनाले आँखा फुटाउन लागे । तर, आँखा बच्यो । सहयोगीले अस्पताल पुर्‍याएपछि बाँचे । अशिक्षित गाउँलेले मलाई यातना दिए, उहाँले भन्नुभयो, अहिले गाउँमा जनचेतनामूलक तालिम भइरहेका छन् । बच्चाहरू स्कुल जान थालेका छन् । तालिमले सबैको दिमाग खुलाएको छ ।

सचेतनापछि बोक्सी हुन्छ भनेर गाउँलेले विश्वास गर्न छाडेको मरनीकी छिमेकी रेखा देवी बताउनुहुन्छ । बोक्सीको आरोप लागेपछि मरनीको घरमा कोही पनि सामाजिक कार्यमा सहभागी हुँदैनथे । उनको घरको भोजभतेरमा कोही जाँदैनथ्यो । अहिले त उहाँको घरमा सबै जान्छन् । भोजभतेर पनि खान्छन्, रेखा देवीले भन्नुभयो ।

६० वर्ष नाघेका स्वास्थ्य स्वयंसेविकालाई सरकारले १० हजार रुपैयाँ दिएर हटाउन लागेको सुनेर मरनी चिन्तित हुनुहुन्छ । महिनावारी तलबमा हामीले स्वयंसेविका काम गरेका छैनौं । तैपनि, हामीले धेरै सुत्केरी आमा र बच्चाको ज्यान जोगाएका छौं । ६० वर्ष उमेर पुगेका स्वयंसेविकालाई हटाउने कुरा सुनेको छु । तर, हाम्रो माग हामीले काम गर्न पाउनुपर्छु, उहाँले भन्नुभयो, मलाई स्वयंसेविकाको काम गर्दागर्दै मर्ने इच्छा छ ।

अन्नपूर्ण

विशेष