News

आर्थिक अभावले आठ सन्तानको पढाइ छुट्यो

आर्थिक अभावले आठ सन्तानको पढाइ छुट्यो

जेठ ३० । मुगुकाे सदरमुकाम गमगढीबाट २१ कोष टाढाको सोरु गाउँपालिका ३, भिइस्थित एकै घरका आठ दलित बालबालिका आर्थिक अभावकै कारण स्कुल जानबाट वञ्चित भएका छन् ।

एक वर्षअगाडि छतबाट खसेर बाबु मुन कुमालको मृत्यु भएपछि आठ सन्तानको पढाइ छुटेको हो । आरन पेसा गरेर परिवार धान्दै आएका मुनको आफ्नै घरको छतबाट खसेर मृत्यु भएको थियो । उनको मृत्युपछि १७ वर्षीय मनरुप, १५ वर्षीय ज्ञानी, १३ वर्षीया नानी, ११ वर्षीया सभी, ९ वर्षीया रमला, ७ वर्षीय राजेन्द्र, ५ वर्षीय रन्ज र ४ वर्षीय सुर कुमालले पढाइलाई निरन्तरता दिन सकेनन् ।

आमा र जेठा छोरा मनरुपको कमाइले बिहान-बेलुका खान पनि नपुग्ने भएपछि उनीहरू स्कुल जान छाडेका हुन् । बाबुको मृत्युपछि ९ कक्षा पढ्दै गरेका मनरुपले पढाइ छाडेर आरन पेसालाई निरन्तरता दिएका छन् । माइलो छोरा ज्ञानी गाउँलेसँगै भारत गएका छन् । गाउँलेको फलामका सामग्री बनाएबापत पाउने अन्न र आमाले अरुको काम गरेर ल्याएको अन्नले परिवार धानेका छौ, मनरुपले भने, बाबुको मृत्युपछि घरको सबै जिम्मा मेरै काँधमा आएको छ ।

आरनको कमाइले सात भाइबहिनीलाई कापीकलम किन्नसमेत नपुग्ने भएपछि पढाउन सकिएको छैन। गाउँमा खेतबारी नभएकाले अहिले सबै परिवार लेकमा रहेको घरमा बसिरहेका छन् । आफूहरू बसेको स्थानबाट गाउँको विद्यालय पुग्न दुई घन्टा लाग्छ ।

आर्थिक अभावकै कारण सबै भाइबहिनीलाई पढाउन नसकिए पनि एक-दुई जनालाई मात्रै भए पनि जसोतसो पठाउने चाहना भए पनि नसकिएको मनरुपले बताए । 
अन्नपूर्ण

विशेष