News देश

हनुमन्ते खोला फर्काएकोमा विवाद, एउटै जग्गा २ जनाको दाबी

हनुमन्ते खोला फर्काएकोमा विवाद, एउटै जग्गा २ जनाको दाबी

जेठ ३१ । मध्यपुर ठिमी–३ र सूर्यविनायक नगरपालिका–३ बालकोटको सिमानामा पर्ने हनुभन्ते खोलामा भएको विवादपछि सो क्षेत्रमा रहेको जग्गा दुइ पक्षले आफ्नो भएको दाबी गरेका छन् ।

शनिबार राति उक्त क्षेत्रमा डोजरले साविक खोला जुन ठाउँमा थियो सोही ठाउँमा फर्काएपछि अहिले विवाद चर्किएको छ । ठिमीमा जग्गा पर्ने धनी र सूर्यविनायकपट्टि जग्गा पर्ने धनी दुवैले आ–आफ्नो दाबी गरेका छन् ।

सूर्यविनायकतर्फका जग्गाधनी वडा नं ३ का अध्यक्षसमेत रहेका शिवनारायण खत्री २०११ सालको नापीमा खोला जुन ठाउँबाट बगेको थियो सोही ठाउँबाट आफूहरूले खोला फर्काएको दाबी गर्छन् । उनका अनुसार ०५४ सालमा बाढी आएर खोलाले धार परिवर्तन गरी आफूहरूको जग्गाबाट बगेको थियो । उनको भनाइमा अहिले सोही ठाउँबाट खोला फर्काउँदा विवाद गर्नुको कुनै तुक छैन । सो समयमा किसानले खोलाको धार परिवर्तन गर्न नसकेको र सोही ठाउँबाट खोला बगेको थियो ।

अहिले स्थानीय किसानले साविककै ठाउँबाट खोला बगाएका हुन् । २०६९ असोज २२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खोलालाई साविककै स्थानबाट बग्न दिई उक्त क्षेत्रमा रहेको पुल संरक्षण गर्न जिल्ला प्रशासन कार्यालय र उपत्यका नगर विकास प्राधिकरण र मध्यपुर ठिमीलाई लिखित आग्रह गरे पनि कार्यान्वयन भएको थिएन ।

मध्यपुर ठिमीतर्फका जग्गाधनी विजयकृष्ण श्रेष्ठ २०५४ सालमा खोलाले बहाव परिवर्तन गरेको कुरा झूठो भएको बताउँछन् । खोला धेरै वर्षदेखि सोही ठाउँबाट बगेको उनको दाबी छ । बालकोटतर्फका स्थानीयले सस्तोमा जग्गा खरिद गरी अहिले महँगोमा बिक्री गर्न खोलाको बहाव परवर्तन गरेको उनको आरोप छ । सूर्यविनायक नगरपालिका र मध्यपुर ठिमी नगरपालिकाले यस विषयमा गम्भीर छलफल गरी सत्यतथ्य पत्ता लगाई कारबाही अघि बढाउने बताएका छन् ।

गोरखापत्र

विशेष