विदेश

बंगलादेशमा पहिरोमा परी मृत्यु हुनेको संख्या पाँच सैनिक सहित १ सय ७ पुग्यो

बंगलादेशमा पहिरोमा परी मृत्यु हुनेको संख्या पाँच सैनिक सहित १ सय ७ पुग्यो


जेठ ३१ । बंगलादेशमा वर्षापछि आएको पहिरोमा परी मृत्यु हुनेको संख्या १ सय ७ पुगेको छ । मृत्यु हुनेमा पाँच सैनिक पनि रहेका छन् । पहिरोले पुरिएको सडकको अवरोध हटाउन खटिएका सेनाको मृत्यु भएको बताइएको छ ।

बंगलादेशको दक्षिण पूर्र्वी शहर रंगमती पहिरोको सबैभन्दा बढी मारमा परेको बंगलादेशी अधिकारीहरुले जनाएका छन् । पहिरोका कारण सयौं घर डुबानमा परेका छन् । पहिरोका कारण सयौं सर्वसाधारण समस्यामा परेका छन् ।

पहिरोका कारण केही गाउँसँगको सम्पर्क टुटेको छ भने सञ्चार र विद्युत सेवा अवरुद्ध भएको छ । वर्षाका कारण राजधानी ढाका र चित्तागाउँको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको बताइएको छ । भारी बर्षाका कारण उद्धार कार्यमा समेत कठिनाई भएको बताइएको छ ।

बंगलादेशमा गत महिना मोरा नामको आँधीले ८ जनाको मृत्यु भएको थियो भने हजारौं घर डुबानमा परेका थिए । मौसमविदहरुले वर्षा अझै केही दिन लम्बिन सक्ने चेतावनी दिएका छन् ।

विशेष