News मुख्य समाचार

तराइमा सेनाको उपस्थिती बाक्लियो

तराइमा सेनाको उपस्थिती बाक्लियो


असार १ । तराईका विभिन्न जिल्लामा राष्ट्रिय जनता पार्टी नेपालका कार्यकर्ताहरुको निर्वाचनविरोधी गतिविधि बढ्न थालेपछि नेपाली सेनाले आफ्नो उपस्थिति बढाएको छ ।

सप्तरी सदरमुकाम राजविराजमा राजपाले आज सहायक मतदान अधिकृतहरुको तालिम बिथोलेपछि सो स्थानमा नेपाली सेनाको टोली पुगेको छ । स्थानीय प्रशासनले सेना खटाएकोबारे औपचारिक रुपमा केही बताएको छैन ।

राजपा कार्यकर्ताहरुले निर्वाचन तालिमका लागि राजविराजस्थित महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसमा रहेको तालिम स्थल जाँदै गरेका ५५ जना सहायक मतदान अधिकृतलाई जबर्जस्ती नियन्त्रणमा लिँदै घेराहाली क्याम्पसको मुलगेटमा आफूसँगै धर्नाका बसाएका थिए ।

तालिममा सहभागी नहुने सर्तमा राजपा कार्यकर्ताले उनीहरुलाई करिब एक घण्टा नियन्त्रणमा लिएर छाडेका थिए । सो क्रममा नेपाल र सशस्त्र प्रहरीको बाक्लो उपस्थितिका बीच झण्डै ५० को संख्यामा नेपाली सेनाको टोली पुगेको थियो ।

करिब १० मिनेटसम्म नेपाली सेनाको सो टोली निर्वाचन तालिम स्थल महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसको उत्तरी भागमा रहेर फर्केको थियो । पछिल्लो केही दिनयता राजपाको आन्दोलनका क्रममा नेपाली सेनाको उपस्थिति देखिँदै आएको छ ।

राजविराजमा खटिएका सेनाले स्थानीय सञ्चारकर्मीहरुलाई फोटो खिच्न रोक लगाएको छ ।

विशेष