विदेश

गोरखाल्याण्डको माग गर्दै दार्जीलिङ अनिश्चितकालिन बन्द

गोरखाल्याण्डको माग गर्दै दार्जीलिङ अनिश्चितकालिन बन्द


असार २ । बंगाल प्रहरीले बिहीबार बिहान गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष एवं गोर्खा टेरिटोरियल एडमिनिस्ट्रेटिभ प्रमुख विमल गुरुङको दार्जीलिङस्थित घरमा छापा मारेर तोडफोड गरेको विरोधमा गोर्खाल्यान्डमा अनिश्चितकालीन बन्द सुरु भएको छ ।

बाङलाभाषाको बाध्यताकारी अध्ययन व्यवस्था गरिएपछि नेपालीभाषी भारतीयको सघन बसोवास भएको दार्जीलिङसहित गोर्खाल्यान्ड क्षेत्रमा चर्किएको आन्दोलन दबाउन प्रहरी र सेना परिचालन गरेको पाँचौं दिन बिहान ७ बजे बंगाल प्रहरीले मोर्चाको कार्यालय र अध्यक्ष गुरुङको घरमा छापा मार्ने नाममा तोडफोड गरेपछि बन्द आह्वान गरिएको मोर्चाकी नेतृ निरा शर्माले जानकारी दिइन ।

शर्माका अनुसार बिहान साढे ७ बजे गुरुङको घर पुगेको प्रहरीले घर र कार्यालयमा छापा मारेको थियो । गुरुङलाई गिरफ्तार गर्ने योजनासहित गए पनि उहाँलाई नभेटेपछि तोडफोड गरेको शर्माले बताइन ।

घटनापछि गुरुङले गोर्खाल्यान्डको एक मात्र एजेन्डासहित आफू अविचलित अघि बढ्ने बताएको शर्माले जानकारी दिइन । घटनापछि दार्जीलिङमा दिनभर सवारीसाधन नचलेको र विद्यालय, कलकारखाना, सरकारी कार्यालयसमेत ठप्प रहेका छन् ।

घटनापछि अध्यक्ष गुरुङले गोर्खाल्यान्डका लागि एक भएर अघि बढ्न सबै दललाई आह्वान गरेका छन् । प्रहरीले दार्जीलिङमा सातजना र कालेबुङमा तीनजनालाई पक्राउ गरेको छ । बंगाल सरकारको ज्यादती बढ्दै गएको भन्दै नेपालीभाषी भारतीय संकटमा रहेकाले सहयोग गर्न सबैलाई आह्वान गरेका छन् ।

विशेष