News

पत्रकारद्वय भण्डारी र भट्ट पक्राउ, पक्राउप्रति पत्रकार महासङ्घको आपत्ति

पत्रकारद्वय भण्डारी र भट्ट पक्राउ, पक्राउप्रति पत्रकार महासङ्घको आपत्ति

भीमदत्तनगर, ३ असार । कञ्चनपुरका पत्रकारद्वय खेम भण्डारी र गणेशदत्त भट्टलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले शनिबार पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा रहेका शुक्लाफाँटा नगरपालिकाका पूजा नाथ र कञ्चन नाथका परिवारले दिएको उजुरीका आधारमा भीमदत्तनगरबाट प्रकाशित हुने मानसखण्ड दैनिकका प्रकाशकरसम्पादक भण्डारी र सोही दैनिकका कार्यकारी सम्पादक रहेका भट्टलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पूजा र कञ्चनलाई केही दिनअघि प्रहरीले मादक पदार्थ सेवन गरी होहल्ला गरेको भन्दै पक्राउ गरी सार्वजनिक अपराध ऐनअन्तर्गत कारबाही अघि बढाएको विषयमा मानशखण्ड दैनिकले समाचार सम्प्रेषण गरेको थियो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक भीम दाहालले प्रहरीको हिरासतमा रहेका कञ्चनका बुबा खेमराज नाथले छोरी र बहिनी पूजाका विषयमा निरन्तर सञ्चार माध्यममा समाचार आएर सामाजिक बेइज्जत भएको भन्दै सार्वजनिक अपराध ऐनअन्तर्गत पत्रकारलाई कारबाहीका लागि उजुरी दिएको बताए ।

खेमराजको उजुरीका आधारमा पत्रकारद्वय भण्डारी र भट्टलाई नियन्त्रणमा लिइएको दाहालले जानकारी दिए । “खेमराजले उजुरीमा सञ्चारमाध्यमकै कारण बहिनी पूजाको स्वयम्वर समेत रोकिएको खुलाएका छन्,” उनले भने ।

लामो समयदेखि पत्रकारितामा सक्रिय भण्डारी न्यूनतम पारिश्रमिक निर्धारण समितिका पूर्व अध्यक्ष हुन् । उनले भीमदत्तनगरमा रेडियो महाकाली र मानसखण्ड दैनिक पत्रिका सञ्चालन गर्दै आएका छन् । समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ गरिएको घटनाप्रति नेपाल पत्रकार महासङ्घ कञ्चनपुर शाखाले खेद प्रकट गरेको छ । सो शाखाका अध्यक्ष विष्णु अवस्थीले पत्रकारद्वय भण्डारी र भट्टलाई तत्काल रिहा गर्न माग गरेका छन्

पक्राउप्रति पत्रकार महासङ्घको आपत्ति

कञ्चनपुरबाट प्रकाशित ‘दैनिक मानसखण्ड’का सम्पादक खेम भण्डारी र कार्यकारी सम्पादक जी भट्टलाई सार्वजनिक अपराध गरेको आरोपमा प्रहरीले पत्रिकाको कार्यालयबाटै नियन्त्रणमा लिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विपरीत भएको नेपाल पत्रकार महासङ्घले जनाएको छ ।

पत्रिका नै बन्द गर्ने गरी सम्पादक, कार्यकारी सम्पादकलाई गिरफ्तार गरेर सरकार पूर्णरूपमा स्वतन्त्र प्रेसलाई नियन्त्रण गरी निरङ्कुशतातिर उन्मुख भएको महासङ्घका महासचिव उजिर मगरले आज जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ । उहाँहरुलाई अनुसन्धानका लागि भन्दै कञ्चनपुर प्रहरीले पक्राउ गरेको थियो ।

रिहा नगर्दासम्म कञ्चनपुरका सम्पूर्ण पत्रकारले सम्बन्धित निकायमा तत्काल धर्नालगायत विरोधका कार्यक्रम गर्ने भएका छन् । 

 

विशेष