News राजनीति

पहिलो चरणमाजस्तो देखिएन तालमेल, यी हुन् तालमेल भएका मुख्य स्थान

पहिलो चरणमाजस्तो देखिएन तालमेल, यी हुन् तालमेल भएका मुख्य स्थान

असार ४ । दोस्रो चरणको स्थानीय निर्वाचनमा पनि प्रमुख दलहरूले विभिन्न जिल्लामा चुनावी तालमेल गरेका छन्, यद्यपी तालमेल पहिलो चरणमा भन्दा निकै सुस्ताएको देखिन्छ ।

उम्मेदवार मनोनयनको दिनसम्म आइपुग्दा दलहरूले झन्डै आधा दर्जन जिल्लामा तालमेल गरेका छन् । कांग्रेस–माओवादी केन्द्रबीच अधिकांश स्थानमा तालमेल भएको छ । दोस्रो चरणमा निर्वाचन हुने एक मात्र महानगरपालिका विराटनगरमा एमाले र लोकतान्त्रिक फोरमबीच तालमेल भएको छ । पहिलो चरणको निर्वाचनमा कतिपय ठाउँमा तालमेल प्रभावकारी नदेखिएपछि दोस्रो चरणमा तालमेल कम देखिएको छ । केन्द्रबाट भन्दा पनि स्थानीयस्तरमा आफैँ पहलकदमी लिएर तालमेल भएको नेताहरूले बताएका छन् । धेरै जिल्लामा कांग्रेस र माओवादीबीच तालमेल भएको छ । माओवादी र एमाले एक नगरपालिकामा मात्रै तालमेलमा छन् । केही स्थानीय तहमा दलहरूबीच तालमेलको पहल जारी छ ।

स्थानीय आवश्यकताअनुसार ठूला दलहरूले विभिन्न ठाउँमा साना दलहरूसँग पनि तालमेल गरेका छन् ।

यी हुन् तालमेल भएका मुख्य स्थानीय तह

 विराटनगर महानगरपालिका  

एमाले र फोरम लोकतान्त्रिक

बुटवल उपमहानगरपालिका  

कांग्रेस र माओवादी केन्द्र

रामपुर नगरपालिका, पाल्पा  एमाले र माओवादी केन्द्र

एक लाख ६३ हजार सुरक्षाकर्मी परिचालन

गृह मन्त्रालयले दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि सुरक्षाको सबै तयारी पूरा भएको जनाएको छ। पहिलो चरणभन्दा दोस्रो चरणको निर्वाचनमा सुरक्षा व्यवस्था कडा पारेको गृहले जनाएको छ। तीनवटै सुरक्षा निकाय र म्यादी प्रहरी गरी निर्वाचनमा एक लाख ६३ हजार ८ सय २३ जना सुरक्षाकर्मी खटाइएको गृहप्रवक्ता दीपक काफ्ले बताए। नेपाल प्रहरी, सशस्त्र, म्यादी प्रहरी, राष्ट्रिय अनुसन्धान र सेना खटाएर सबै मतदान केन्द्र सुरक्षा नियन्त्रणमा लिइएको गृहमन्त्री जनार्दन शर्माले बताए। तत्काल जनताको सुरक्षा व्यवस्थाका लागि पछाडि नहट्न प्रहरी अधिकृतलाई निर्देशनसमेत दिइएको उनले बताए।

नयाँ पत्रिका

विशेष