News

‘महावीर पुनलाई हाम्रो साथ’ अभियान सुरू

‘महावीर पुनलाई हाम्रो साथ’  अभियान सुरू

 

असार - ६ । राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग जुटाउन ‘महावीर पुनलाई हाम्रो साथ’ अभियान सुरु भएको छ । ‘हाम्रो बागलुङ, हाम्रो जिम्मेवारी’ नामक युवा समूहले थालेका सो अभियान केन्द्रका अध्यक्ष पुनले शुभारम्भ गर्दै समुन्नत देश बनाउन आविष्कार केन्द्रको आवश्यकता परेको बताए।

सो केन्द्रका लागि बौद्धिक तथा आर्थिक सहयोगका साथै समय दिन सबै नेपालीमा आह्वान गर्दै उहाँले विदेशी मुलुकमा समेत आविष्कार केन्द्रका लागि आर्थिक अभियान चलेको जानकारी दिए । “म सरकार र आम नेपालीलाई यसको महत्व बुझिदिन आग्रह गर्छु”, पुनले भने, “यो सम्पन्नशाली नेपाल बनाउने महाअभियान हो ।”

प्रतिष्ठित म्यागासेसे पुरस्कारका विजेता समेत रहेका उनले केन्द्रलाई गरिने सहयोग देशका लागि महादान हुने चर्चा गर्दै पूर्वाधारका क्षेत्रमा खर्चने रकमको एक/दुई प्रतिशत रकम आविष्कार केन्द्रको लागि छुट्टाउन सरकारसँग माग गरे।

‘‘पूर्वाधार निर्माणले मात्र समृद्धि प्राप्त हुँदैन, मुलुकका प्रतिभावान व्यक्तिलाई देशमै राख्ने वातावरण बनाउनुपर्छ’’ पुनले भने, ‘‘आविष्कार केन्द्रले त्यस्ता प्रतिभालाई देशमै रम्ने वातावरण निर्माणमा सघाउ पु¥याउँछ ।’’ आविष्कार केन्द्रको अवधारणा नेपालमा नौलो लागेपनि विदेशीले पचासौं वर्षअघि सुरु गरेको उनको भनाइ छ ।

युवा समूहका अध्यक्ष सोम शर्माले आविष्कार केन्द्र राष्ट्रिय मुद्दासँग जोडिएकाले सबैले सहयोग गर्नुपर्ने बताए । ‘‘हाम्रो सानो युवा समूह यस अभियानमा जुटेको छ, सबैको सहयोग हुनेमा विश्वस्त छौं’’ शर्माले भने, ‘‘तीन महिनाको अवधिमा संकलित रकम आविष्कार केन्द्रलाई हस्तान्तरण गर्छौं ।’’ बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष जयराम भारीले अभियानमा सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । उनले आविष्कार केन्द्रको अवधारणामा राज्यले अपनत्व ग्रहण गर्नुपर्ने बताए ।

सामाजिक अभियन्ता समेत रहनुभएका पुनले आविष्कार केन्द्रको लागि अपेक्षित रकम नजुटेपनि केही साताअघि आफूले पाएका पदक तथा पुरस्कार बिक्रीमा राख्नुभएको थियो । आविष्कार केन्द्रलाई सघाउन नागरिक स्तरबाट स्वतःस्फूर्त रुपमा आर्थिक संकलन अभियान चलिरहेको छ । पुनका अनुसार हालसम्म चार करोड भन्दा बढी रकम संकलन भइसकेको छ । सरकारले पनि आविष्कार केन्द्रको लागि आर्थिक सहायता दिने प्रतिवद्धता जनाएको छ । 

विशेष