गोर्खाल्याण्डका नेता भन्छन् : नेपाल र भारतको सीमामा पर्खाल लगाउनुपर्छ, भिसाको नियम लागू गर्नुपर्छ ! (भिडियो अन्र्तवार्ता)
गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका नेता सन्दिप लिम्बुले नेपाल– भारत सीमामा पर्खाल लगाउनुपर्ने माग गरेका छन् । गोर्खाल्याण्ड राज्यको आन्दोलनको स्थलगत रिपोटिङका लागि दार्जलिङ पुगेको नेपाल आज टिमसँग कुरा गर्दै लिम्बुले दुई देशबीचको खुला सीमा दुबै पक्षका लागि हितकर नभएको बताएका हुन् । लिम्बुले सन् १९५० को सन्धीको धारा ७ र ८ पनि खारेज गर्नुपर्ने जनाए । दुबै देशमा एक अर्का देशका नागरिक बसोबास गर्न पाउने प्राबधानका कारण नेपालीभाषी भारतीयप्रति भारतमा संशय पैदा भएको उनको भनाइ छ ।
नेता लिम्बुले भारतीय एकतालाई मजबुत बनाउन आफूहरुले गोर्खाल्याण्डको माग गरेको दाबी गरे । दार्जलिङलाई पश्चिम बंगालमा पछिमात्रै मिसाइएको भन्दै उनले भारतीय संविधानअनुसार दार्जलिङ र आसपासको क्षेत्रलाई गोर्खाल्याण्ड बनाइनुपर्ने जनाए । उनले गोर्खाल्याण्ड नेपालमा मिसिने कुरा कल्पनाभन्दा बाहिरको विषय भएको स्पष्ट गरे ।
नेपालीसँगको अपेक्षा
गोर्खाल्याण्ड भारतको आन्तरिक विषय भएपनि आफूहरुको मागलाई सहानुभुति व्यक्त गर्न लिम्बुले नेपाली जनता र नेपाल सरकारसँग माग गरेका छन् । उनले १९५० को सन्धी संशोधन गर्न नेपाल सरकारसँग आग्रह गरे ।
मोदी र ममता बनर्जीसँगको आग्रह
२०१४ मा भएको संसदीय निर्वाचनमा नरेन्द्र मोदीले गोर्खाल्याण्ड आफ्नो पनि सपना भएको भन्दै दार्जलिङबासीलाई रिझाएका थिए । प्रधानमन्त्री भएपछि मोदीले आफूहरुको सपनालाई विपनामा बनाउने आशमा गोर्खाल्याण्डबासी छन् । सोही आशा लिम्बुले अन्र्तवार्तामा दोहो¥याए । पश्चिम बंगालमा राजनीतिक जितको इतिहास रचेकी ममता बनर्जीसँग ममतामय व्यवहार प्रर्दशन गर्न लिम्बुले आग्रह गरे । उनले भने, ‘ममताजीले आमाजस्तै बनेर इतिहास रच्नुपर्छ । गोर्खाल्याण्डको जायज मागलाई बुझ्नुपर्छ ।’
पश्चिम बंगाल सरकारले आफ्नो प्रदेशमा बंगाली भाषालाई अनिवार्य गरेपछि गोर्खाल्याण्डको माग चर्कोरुपमा उठेको छ । गोरखाल्याण्डलाई भारतको भिन्दै प्रदेश बनाइनु भन्दै भएको पछिल्लो आन्दोलनमा केहीको ज्यान पनि गइसकेको छ ।
(गोर्खाल्याण्डको आन्दोलनको स्थलगत रिपोटिङका लागि नेपाल आजको टोली दार्जलिङ पुगेको छ । हामी गोर्खाल्याण्डका विषयवस्तु क्रमशः प्रकाशित गर्नेछौँ –सम्पादक)
darjeeling gorkhaland sandeep limbu