News राजनीति मुख्य समाचार

उम्मेदवारलाई आज चुनावचिन्ह प्रदान गरिने

उम्मेदवारलाई आज चुनावचिन्ह प्रदान गरिने

असार ६ । निर्वाचन आयोगले स्थानीय तह दोस्रो चरण निर्वाचनका लागि मनोनयन दर्ता गराएका दल तथा स्वतन्त्र उम्मेदवारहरूलाई आज  निर्वाचन चिह्न दिने भएको छ ।

१४ असारका लागि तय भएको स्थानीय तह दोस्रो चरणको निर्वाचनका लागि प्रदेश १, ५ र ७ का ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमा कायम भएका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयबाट मनोनयन दर्ता गराएका पार्टी तथा स्वतन्त्र उम्मेदवारहरूलाई आयोगले आज निर्वाचन चिह्न दिने भएको हो ।

आयोगले जारी गरेको पूर्वनिर्धारित कार्यतालिकाअनुसार नै निर्वाचन चिह्न प्रदान गरिने आयोगका सचिव गोपीनाथ मैनालीले बताए । ‘आयोगको पूर्वनिर्धारित कार्यतालिकाबमोजिम नै निर्वाचन चिह्न प्रदान गरिनेछ । दलका तर्फबाट तथा स्वतन्त्र रूपबाट तोकिएको समयभित्र उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरूले निर्वाचन चिह्न पाउनुहुनेछ,’ सचिव मैनालीले राजधानीसँग भने। आयोगले स्थानीय तह निर्वाचन प्रयोजनका लागि जारी गरेको निर्वाचन कार्यतालिकाअनुसार ४ असारमा दल तथा स्वतन्त्र उम्मेदवारहरूले मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा पुगी उम्मेदवारीको मनोनयन दर्ता गराएका थिए। सोही दिन नै दर्ता भएका उम्मेदवारको सूची प्रकाशनसमेत भइसकेको छ ।

उम्मेदवारी फिर्ता लिन आयोगले मंगलबार बिहान ८ बजेबाट ११ सम्मको समय तोकेको छ भने अन्तिम नामावली प्रकाशन पनि मंगलबार नै गर्ने आयोगको तयारी छ । स्थानीय तह निर्वाचनअन्तर्गत कुल ७ सय ४४ स्थानीय तहका कुल १८ हजार ५ सय ७२ निर्वाचन केन्द्रमध्ये दोस्रो चरणमा ३ सय ३४ तहका ८ हजार ३ सय ६४ केन्द्र र ४ हजार ५ सय ८१ स्थलमा निर्वाचन हुने आयोगले बताएको छ। जसमा १ महानगर, ७ उपमहानर, १ सय ११ नगरपालिका र २ सय १५ गाउँपालिका रहेका छन् । १४ असारमा हुने निर्वाचनमा ६४ लाख ३२ हजार ७ सय ६५ मतदाताले भाग लिनेछन् भने सो निर्वाचनबाट १५ हजार ३८ प्रतिनिधि चयन हुनेछन्। प्रदेश–३, ४ र ६ मा भने ३१ वैशाखमा नै निर्वाचन सम्पन्न भइसकेको छ भने प्रदेश–२ मा २ असोजमा निर्वाचन हुनेछ।

राजधानी

विशेष