News

नौवटा विद्यालयका छात्रालाई सेनेटरी प्याड वितरण

नौवटा विद्यालयका छात्रालाई सेनेटरी प्याड वितरण


असार ६ । जुम्लाका माविस्तरका नौ सामुदायिक विद्यालयका छात्रालाई सेनिटरी प्याड वितरण गरिएको छ ।

चन्दननाथ नगरपालिकाको सहयोग तथा नगर बाल सञ्जालको सहजीकरणमा सोमबार सेनिटरी प्याड वितरण गरिएको हो । चन्दननाथ नगरपालिकाभित्र रहेका नौ सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई महिला विकास निरीक्षक बिन्दु कुँवर, चन्दननाथ माविका सहायक प्रधानाध्यापक बबिता शाही र महिला अधिकारकर्मी भगवती श्रेष्ठले प्याड संयुक्तरुपमा वितरण गरेकी हुन् ।

कार्यक्रममा २३५ छात्रालाई प्याड वितरण गरिएको चन्दननाथ मावि खलङ्गा जुम्लाका प्रधानाध्यापक टङ्कबहादुर महतले जानकारी दिए । सेनिटरी प्याडले छात्राको स्वास्थ्य अवस्था सुरक्षित र अध्ययनमा सहज बनाएको छ ।

विद्यालयमा सेनेटरी प्याड प्रयोगले उल्लेख्य रुपमा छात्रा सङ्ख्या बढेको सहायक प्रधानाध्यापक बबिता शाहीले बताइन । अहिले महिनावारी हुँदा अपनाउनुपर्ने उपायका बारेमा जानकारी प्राप्त गरेपछि छात्रा खुलेर बोल्ने गरेकोे भनाइ छ ।, “पहिलेजस्तो महिनावारी भएकै कारण स्कुलमा आउन नसक्ने अवस्था छैन । छात्राले घरेलु विधिद्वारा महिनावारीलाई व्यवस्थापन गर्दै आइराखेका छन् ।”

जिल्ला शिक्षा कार्यालय जुम्लाले शिक्षिका र छात्रालाई पटकपटक तालिम, गोष्ठीमा सहभागी गराएर सचेतना बढाएको उहाँको भनाइ छ । सामाजिक सङ्घ संस्थाले सेनेटरी प्याडको व्यवस्था गर्नु र पाठ्यक्रममा रजस्वला हुँदा अपनाउनुपर्ने उपायबारे सचेतना जगाउने खालको विषयवस्तु भएकाले छात्रालाई अध्ययन गर्न सक्ने वातावरण बनेको जनाइएको छ ।

महिनावारीका बेला अपनाउनुपर्ने कुराका बारेमा महिला तथा बालबालिका कार्यालय जुम्लाले विद्यालयस्तरीय कार्यक्रम गर्दै आइरहेको महिला विकास निरीक्षक बिन्दु कुँवरले जानकारी दिनुभयो । जथाभावी प्याड प्रयोगले रोग सङ्क्रमण भएर पाठेघर क्यान्सरको सम्भावना बढ्ने भएकाले त्यसको उचित प्रयोग गर्न सुझाए ।

चन्दननाथ नगर बाल सञ्जाल जुम्लाका अध्यक्ष ईश्वर खत्रीले विद्यालयमा महिनावारी हुँदा कुनै पनि छात्राले अनुपस्थित हुनु नपरोस् भनेर प्याड वितरण गरिएको बताए । चन्दननाथ नगरपालिकाको रु एक लाख बजेटमा सेनिटरी प्याड वितरण गरिएको हो, अध्यक्ष खत्रीले भने ।

कार्यक्रममा महिला अधिकारकर्मी भगवती श्रेष्ठले सेनेटरी प्याड वितरण सानो देखिए पनि यसको सन्देश व्यापक हुने तर्क गरे ।

“महिनावारी हुँदा देवता रिसाउँछन् भन्ने अन्धविश्वासी मान्यता अहिले पनि हावी छ, महिनावारी हुँदा यसबाट निकै महिला पीडित हुन्छन” प्राकृतिक नियम भएकाले यसबाट सुरक्षित हुन भन्दै महिनावारीको बेला पोषिलो खानेकुरा खान सुझाव दिए ।

विशेष