विदेश भिडियो

‘हामी सबै मारिन तयार छौँ तर गोर्खाल्याण्ड छाड्दैनौँ’ (भिडियो अन्र्तवार्ता)

‘हामी सबै मारिन तयार छौँ तर गोर्खाल्याण्ड छाड्दैनौँ’ (भिडियो अन्र्तवार्ता)

भारतमा गोर्खाल्याण्डका लागि आन्दोलन गरिरहेको गोर्खा जनमुक्ति पार्टीका उपाध्यक्ष आरबी वाइवाले गोर्खाल्याण्ड नबनाइ आन्दोलन नरोकिने बताएका छन् । नेपाल आजसँग दार्जलिङमा विशेष कुरा गर्दै वाइवाले पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले गोर्खालीलाई मारिरहेको भन्दै आक्रोश व्यक्त गरे । ‘हामी सबै मर्न तयार छौँ । अत्याचार सहेर लामो समय बाच्नुभन्दा आफ्नो पहिचानका लागि एकैपटक मर्न उचित हो । हामी मर्न तयार छौँ ।’ वाइवाले आन्दोलनको औचित्य प्रष्टाउँदै भने, ‘हाम्रो शान्तिपूर्ण आन्दोलनलाई दबाउन अत्याचार गरिएको छ । हामी अब अन्तिम लडाइ लड्दै छौँ । हामी बंगाली होइनौँ, हामी भारतीय गोर्खा हौँ । हामीलाई हाम्रो राज्य चाहिन्छ ।’

वाइवाले पश्चिम बंगालकी मुख्य मन्त्री बनर्जीलाई ढोंगीको संज्ञा दिए । बोली र व्यवहारमा तालमेल नभएकी भन्दै बनर्जीसँग बार्ता गर्नुको औचित्य नरहेको उनले स्पष्ट गरे । केन्द्र सरकारले आफूहरुको माग सुन्ने उनले विश्वास व्यक्त गरे । वाइवाले भने, ‘हाम्रो माग केन्द्र सरकारसँग हो । बेनर्जीसँग हाम्रो माग पूरा गर्ने हैसियत नै छैन ।’

भारत सरकारले गोर्खाहरुलाई विदेशीको लान्छना लगाउने गरेको भन्दै वाइवाले दुःख व्यक्त गरे । ‘आफ्नो छुट्टै राज्य नहुँदा हामीलाई विदेशीको लान्छना लगाइन्छ । यहाँबाट खेद्ने षडयन्त्र हुने गरेको छ । भूमीपुत्र हामीलाई हाम्रो भूमीमै पराइ बनाउन खोजिएको छ ।’ वाइवाले भने ।

उपाध्यक्ष वाइबाले गोर्खाल्याण्डको आन्दोलनलाई नेपालसँग जोडेर हेर्नु भारतीय सत्ताको षड्यन्त्र रहेको स्पष्ट पारे । गोर्खाल्याण्डको विषयमा कुरा उठ्ने बित्तिकै जहिले पनि सरकारले गोर्खाल्याण्ड बासीहरुको सम्बन्ध विदेशीसँग रहेको, नेपालले सहयोग गरिरहेको, र आतंकवादीहरुसँग सम्बन्ध रहेको भन्ने आरोप लगाउँदै आएको उनले बताए । उनले आफूहरुको नेपालसँग कुनै साँठगाठ नरहेको खुलस्त पार्दै भने ‘हामी नेपाली भाषी हो, जुन नेपालीले भाषा बोल्छ हाम्रा त्यही मातृ भाषा हो, हाम्रो सम्बन्ध त्यत्ति मात्रै हो ।’ उनले थपे, ‘हामी खाटी भारतीय हौँ । तर आज हामीलाई भारतीय भने चिनारी दिनका निम्ती भारत सरकार इच्छा देखाइरहेको छैन ।’

भारतमा नेपाली भाषी भारतीयहरु असुरक्षीत महसुस गरिरहेको वाइवाको भनाइ छ ।

गोर्खाल्याण्डको आन्दोलनलाई आतंकवादीसँग जोडेर मुख्यमन्त्री बनर्जीले टिप्पणी गरेको सन्दर्भमा वाइवाले भने, ‘बेनर्जीले जहिले पनि सफेद झुट बोल्छिन् । प्रहरी प्रशासन लगाएर हामीलाई मारिरहेको छ, उल्टो हामी आतंकवादी ! हामी कसरी आतंकवादी भयौँ ?’

वाइवाले नेपालीभाषीमाथि भारतमा भएको अत्याचारको विरुद्धमा आवाज उठाउन विश्व समुदायसँग आग्रह गरेका छन् ।

darjeeling gorkhaland rb yaiba

विशेष