कभर स्टोरी राजनीति

अस्तिसम्म आन्दोलनको धम्कीदिने राजपा नेपाल अहिले किन लुरुलुरु निर्वाचनमा ?

अस्तिसम्म आन्दोलनको धम्कीदिने राजपा नेपाल अहिले किन लुरुलुरु निर्वाचनमा ?

जेठ–१९ । एकसाता अघि एक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका नेता महन्थ ठाकुर चर्को चर्को आवाजमा बोलिरहेका थिए– सीमांकन, संविधान संशोधन, अन्तरिम संविधान बमोजिमको नागरिकताको व्यवस्था, राष्ट्रिय सभामा जनसंख्याको आधारमा प्रतिनिधित्व नभई कुनै पनि हालतमा निर्वाचन हुन सक्दैन । यदि चुनाव गर्न खोजिन्छ भने थाहा हुन्छ कि तराईमा के हुन्छ ?’ उनले त्यतिमात्रै भनेनन्, ‘अब पनि हाम्रो माग पूरा भएन भने तराईका जनताले खतरनाक निर्णय आफै गरिदिन्छन् (देश टुक्रा पार्ने आशयको), अनि राज्यले माग पूरा गर्ने अवसर पनि भेट्ने छैन ।’

नेता ठाकुरले दिएको अन्तर्वार्ता यता उनीहरुको मागका विषयमा कुनै प्रगति भएको छैन । यसबीच ठाकुरको हुल बुधबार भारतीय दूतावासमा लञ्च गर्न गयो । भोलिपल्ट अर्थात बिहीबार उनीहरु आफ्नो सबै कुरा छाडेर स्थानीय तहको निर्वाचनमा सहभागी हुन घोषणापत्रको तयारीमा जुटे ।

मधेस मामिला जानकार राजेश अहिराज भन्छन्, ‘यी नेताहरुको बुद्धि देख्दा पनि अचम्म लाग्छ । खासमा यिनको कुनै दम छैन । काठमाडौंका मिडियामार्फत तर्साउने काममात्रै गर्छन् ।’ भारतीय दूतावास पुगेर धार फेरेको कुरामा पनि अहिराजले आश्चर्य प्रकट गरे । उनले भने, ‘कोल्टे फेर्ने तयारी भइसकेको हुन्छ । अनि त्यसअघि दूतावास पुग्छन् । फर्केर आएर कोर्स परिवर्तन गर्छन् । नेपालमा यसै पनि भारतको राम्रो छवि छैन । उनीहरुले त झन् बदनाम गरिदिन्छन् ।’

अहिले राजपाले न्यूनतम चासो सरकारले पूरा गरिदिए निर्वाचनमा सहभागी हुने बताएको छ । उसको न्यूनतम चासो भनेको छुटेकाहरुलाई शहीद घोषणा, घाइेतहरुको प्रभावकारी उपचार, अंगभंग भएकाहरुको उचित व्यवस्थापन र झुटा मुद्धा फिर्ता रहेको छ । यो मध्ये घाइेतहरुको उपचारका नाममा दुई पटक पैशा मधेसी दलहरुले लगिसकेका छन् । पहिलो पटक केपी ओली प्रधानमन्त्री हुँदा र दोस्रो पटक ओली सरकार ढलेको केही समयमै । अहिले फेरि प्रभावकारी उपचारको नाममा मधेसीहरुले पैशाकै बार्गेनिङ गरेको हो कि भन्ने अशंका पनि बढेको छ ।

राजपा नेपाल निर्वाचनमा जाने कुरामा मधेसको मामिलालाई नजिकबाट नियालिरहेका बहुल राष्ट्रिय समाजवादी पार्टीका अध्यक्ष किशोरकुमार विश्वास शंका गर्छन् । अध्यक्ष विश्वास भन्छन्, ‘एकजना भारतीय मूलको ब्राम्हण(महन्थ ठाकुर)लाई प्रयोग गरेर भारतले तमलोपा भन्ने पार्टी जन्मायो । त्यसलाई अहिले राजपा बनाइएको छ । नेपालले ओविओआरमा हस्ताक्षर गरेपछि भारत फेरि रिसाएको शंका छ । मलाई लाग्दैन कि राजपा नेपाल चुनावमा आउँछ । यो पार्टीले त चुनाब बिथोल्ने काम गर्छ ।’

विशेष