गोहीले हात चुँडाएका प्रसाद उपचारपछि घर फर्के
असार ८ । चितवनको भरतपुरस्थित एलाइभ अस्पतालको आकस्मिक कक्षमा बुधबार घाउको ड्रेसिङ गराउँदै थिए चितवन खैैरहनी नगरपालिका वडा नं १३ धर्मपुरका ४६ वर्षीय प्रसाद महतो ।
पट्टी खोलेको मौकामा आफू दाइने हात नभएको अवस्थाको उनले सेल्फी खिचे । “आफनो फोटो त राख्नै पर्यो नि”, कोण मिलाई–मिलाई सेल्फी लिएपछि खुसीका साथ प्रसादले भने ।
गएको जेठ १७ गते पूर्वी चितवनको कुमरोजस्थित इचर्नी खोलामा जाँदा गोहीले आक्रमण गरी उनको दाहिने हात चुँडाएर लगेको थियो ।
हात लगे पनि ज्यान बचेकामा खुसी भएका प्रसाद अहिले उपचार सफल भएकामा थप खुसी देखिन्थे । भन्छन् – “सबै काम दाहिने हातले हुन्थ्यो, गोहीले लगिहाल्यो अब देब्रे हात चलाउनुपर्ला ।”
स्टाफ नर्ससँगै अस्पतालका हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा प्रमोद लामिछानेले हेर्दै थिए । “सर राति हातै छ जस्तो लाग्छ, चिलाउँछ कन्याउन खोज्यो हातै भेटिँदैन, प्रसादले अनुभव साट्दै भने – हात जोडिराखेकै छ जस्तो हुने ।”
भन्डै १५ दिन अस्पतालको बसाइपछि उनी अहिले घर गएका छन् । उनको घाउमा छाला जोड्न किला राखिएको छ । सिलाइएको छ । घाउको अधिकांश भाग निको भएको छ । अब एक हप्ता जतिमा किला पनि निकाल्ने चिकित्सकले बताए ।
दुई महिनाअघि पश्चिम चितवनको जगतपुरमा पौडी खेल्ने क्रममा गोहीले समाएर पानीमुनि पुर्याएका एक बालक अर्जुन हरिजन पनि बाँच्न सफल भएका थिए ।