News

सालक संरक्षणका लागि क्यामेरा ट्रयापिङ

सालक संरक्षणका लागि क्यामेरा ट्रयापिङ

असार ८ । सङ्कटापन्न तथा लोपोन्मुख सालक संरक्षणका लागि काभ्रेपलाञ्चोकको एउटा सामुदायिक वनमा क्यामेरा ट्रयापिङ सुरु भएको छ ।

जिल्लाको पाँचखाल नगरपालिका ज्याम्दीस्थित बासखर्क सामुदायिक वन उपभोक्ता समितिको क्षेत्रमा सालकको वास्तविक अवस्था पहिचान गर्न क्यामेरा ट्रयापिङ सुरु भएको प्राकृतिक सम्पदा नेपालकी अनुसन्धानकर्ता प्रतिभा कसपालले जानकारी दिए ।

जिल्ला वन कार्यालय, धुलिखेलको समन्वयमा सुरु भएको ट्रयापिङ एक सातासम्म सञ्चालन हुने उल्लेख गदैै उहाँले त्यसका लागि सामुदायिक वनका उपभोक्ता नै परिचालन भएको बताए ।

अहिले कमिला र धमिरा बढी मात्रामा बाहिर आउने समय भएकाले यसको आवतजावत बढी हुनाले यो समयमा ट्रयापिङ सुरु गरेकाे अनुसन्धानकर्ता कसपालले बताए  ।

ट्रयापिङका लागि सो सामुदायिक वनमा सालकको आवतजावत बढी हुने क्षेत्रमा छ वटा क्यामेरा राखिएको छ । यो सामुदायिक वनमा संसारकै दुर्लभ कालो सालक पाइन्छ । नेपालमा कालो र तामे सालक पाइन्छ । यसअघि पनि ट्रयापिङ भएको तर त्यतिबेला सालकको पहिचान भएको थिएन ।

संरक्षित वन्यजन्तु सालक जैविक विविधता र कृषि उत्पादनका लागिसमेत उपयोगी हुने भएकाले सालकको प्राकृतिक वासस्थान नष्ट गर्न नहुने कृषकले बताएका छन् ।

हिन्दूधर्ममा सालकलाई भगवान् शिवको अवतारको रुपमा समेत लिइन्छ । यसैबीच सो संस्थाले सामुदायिक वनको लागि सालक संरक्षण तथा व्यवस्थापन कार्ययोजना अघि ल्याएको छ ।

सालकको वासस्थानलाई कसरी सुरक्षित गर्ने र उसको सम्वद्र्धन कसरी गर्ने भन्ने विषयमा जिल्ला वन कार्यालय, काभ्रेपलाञ्चोकको सहयोगमा सो कार्ययोजना आएको अनुसन्धानकर्ता कसपालले जानकारी दिए । जिल्लाको बासखर्कबाहेक धुलिखेलको कटुवापाखा सामुदायिक वनमा समेत सालकको वासस्थान रहेको छ ।

संरक्षित वन्यजन्तुको सूचीमा रहेको सालक पक्रने, राख्ने वा बेचबिखन गरे रु ४० हजारदेखि ७५ हजारसम्म जरिवाना र एक वर्षदेखि १० वर्षसम्म कैद वा दुवै सजाय हुने कानुनी प्रावधान रहेको छ । 

Camera Trapping

विशेष