व्यापार

फोहरजन्य वस्तु बिक्रीबाट पाँच लाख आम्दानी

फोहरजन्य वस्तु बिक्रीबाट पाँच लाख आम्दानी

असार ८ । वालिङ नगरपालिकाबाट सङ्कलन हुने फोहरजन्य वस्तु बिक्रीबाट चालु आवको हालसम्म रु पाँच लाख ५३ हजार आम्दानी भएको छ ।

फोहर व्यवस्थापनका लागि वालिङ नगरपालिकामा काम गर्दै आएको दिदीबहिनी समाज उत्थान संस्थाका अध्यक्ष यामप्रसाद भण्डारीका अनुसार रु एक लाख ५० हजार बराबरको फोहरजन्य वस्तु बिक्री गर्ने तयारी भइरहेको छ ।

वालिङ नगरपालिकामा उत्पादन हुने फोहरजन्य वस्तुको बिक्रीबाट अघिल्लो आवमा रु तीन लाख ७९ हजार र गत आवमा रु पाँच लाख १० हजार आम्दानी भएको थियो । फोहरको व्यवस्थापनका लागि वालिङ नगरपालिका र दिदीबहिनी समाज उत्थान संस्थाबीच सार्वजनिक निजी साझेदारीमा २०७१ असोजमा चार वर्षका लागि सम्झौता भएको थियो ।

“घरघरबाट उत्पादन हुने फोहरजन्य वस्तुलाई वर्गीकरण गरी सङ्कलन गरिन्छ,” अध्यक्ष भण्डारीले भने । फोहरजन्य वस्तु उत्पादन हुनासाथ कुहिने र नकुहिने दुई भागमा वर्गीकरण गरी त्यसलाई प्रशोधन केन्द्रमा लगेर प्रशोधन गरी बिक्री गरिन्छ ।

फोहरजन्य वस्तु व्यवस्थापन गर्न पाँच जनाले रोजगारी समेत पाएका छन् । वालिङलाई सफा र स्वच्छ सहरका रुपमा विकास गर्नका लागि त्यहाँका नगरवासीलाई फोहरमैला व्यवस्थापनसम्बन्धी तालिम समेत प्रदान गरिँदै आएको छ ।

“घरघरबाट कुहिने र नकुहिने फोहर छुट्टयाउन लगाउँछौँ,” अध्यक्ष भण्डारीले भने , “कुहिनेलाई घरमै कम्पोस्ट मल बनाउन सिकाउने र नकुहिनेलाई खरिद गर्ने व्यवस्था मिलाउँछौँ ।” उक्त फोहरजन्य वस्तु प्रशोधन तथा खरिद बिक्री केन्द्रले भैरहवा तथा बुटवलमा लगेर बिक्री गर्दैआएको छ । 

income

विशेष