व्यापार

बोधिचित्त फलको विवाद अझै मिलेन

बोधिचित्त फलको विवाद अझै मिलेन

असार - ९ । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाको एउटा रुखमा फलेको बोधिचित्त फलको विवाद अझै मिल्न सकेको छैन।

जिल्ला प्रसासन कार्यालय, धुलिखेल र जिल्ला प्रहरी कार्यालयमा भएको पटक पटकको छलफल निष्कर्ष विहीन भएको छ । प्रमुख जिल्ला अधिकारी शिवप्रसाद शिङ्खडाले बोधिचित्तको बोटधनी ठगुरानी तामाङलाई पहिले जुन पक्षसँग सम्झौता भएको हो त्यही पक्षलाई नै बोटको फल दिन निर्देशन दिएको बताए।

'मैले यो विवाद अझै लम्बिए यसलाई सरकारीकरण गरेर रुख नै काटनसक्ने सम्भावना पनि छ भनेको छु,' प्रजिअ सिम्ङखडाले भने। तामाङले दुवै पक्षसँग सम्झौता गरेर कमजोरी गरेको उनको भनाइ थियो । दुवै पक्षसँगको सम्झौतासँगै अर्को पक्षले बैंक खातामा रकम राखेको भौचरसमेत देखाएको बताए।

टिपेको फलमा तीनवटै पक्षले आफनो भएको दावी गरेपछि प्रहरीले करिब चार पोका बोधिचित्तको फल दुई दिनअघि नियन्त्रणमा लिएको थियो । बोटधनी तामाङलाई सबैभन्दा पहिले ८० लाख दिएर सत्यमान लामाले सो बोट किनेका थिए । प्रहरीले नियन्त्रणमा लिएको सो फल अव धेरै दिनसम्म राखे कुहिने र ढुसी लाग्न सक्ने देखिएको छ।

रोशी गाउँपालिकास्थित नागबेलीमा रु एक करोडभन्दा बढी पर्ने बोधिचित्तको रुख तीनजना व्यापारीसँग फरक/फरक मूल्यमा बेचेपछि फल कस्को हो भन्ने विषयमा विवाद भएको हो । रोशी गाउँपालिकामा आम्दानीको दरिलो स्रोत मानिने बोधिचित्तको माला नेपालबाहेक बौद्ध धर्मावलम्बीका लागि विदेश पैठारी हुने गर्छ । पछिल्लो समय बोटमा नै कारोबार हुन थालेपछि यसको व्यापार गर्नेलाई सास्ती हुन थालेको छ । करोडौँको मूल्यमा कारोबार हुने बोधिचित्तको मालाका लागि केही वर्षदेखि सुरक्षा माग भए बमोजिम प्रहरीले समेत सुरक्षा प्रदान गरेको थियो ।

विशेष