‘हो भने हो, ८० प्रतिशत नाफा खान्छु लेखिदिनूस्’: शेखर गोल्छा
‘कालोबजारी नियन्त्रणको जिम्मेवारी ट्राफिक प्रहरीको हो’: काठमाडौंका सिडियो पन्थी
असार ११ ।
प्रश्नः तपाईहरुले बिक्री गर्ने बजाजका मोटरसाइकलमा कानुनले तोकेभन्दा बढी नाफा राखेको पाइयो नी ?
शेखर गोल्छाः हामीले त्यस्तो नाफा राखेका छैनौं । आजको जमानामा १ हजार मूल्य तलमाथि हुँदा उपभोक्ता एक मोटरसाइकल छाडेर अर्कोमा जान्छन् ।
प्रश्नः कानुनले २० प्रतिशत तोकेको छ, ४०–५० प्रतिशतसम्म नाफा राख्न मिल्छ ?
शेखर गोल्छाः तपाईले कुरा बुझ्नु भएको छैन । एकजना जान्ने मान्छेलाई राखेर सोध्नुहोस् अनि थाहा हुन्छ मोटरसाइकलको मूल्य कसरी निर्धारण हुन्छ भन्ने ।
प्रश्नः कसरी निर्धारण हुन्छ त ? बिक्रेता तपाई नै हो । भनिदिनुहोस् न ।
शेखर गोल्छाः कर, भ्याट, अन्तशुल्क, स्थानीय कर जस्ता धेरै कुरा जोडेर मोटरसाइकलको मूल्य कायम हुन्छ । हाम्रो नाफा त मुस्किलले ३–४ प्रतिशत हो ।
प्रश्नः ती सबै कर जोडेपछि कायम भएको मूल्यमा ४० प्रतिशत भन्दा बढी नाफा राख्नु भएको पाइयो नी ?
शेखर गोल्छाः मैले भनिसके । तपाईको हिसाबमा गडबड भएको छ । जान्ने मान्छे राखेर बुझ्नुहोला ।
प्रश्नः त्यो त ठीकै छ । तर नाफा प्रतिशत त उच्च देखिएकै छ नी हैन ?
शेखर गोल्छाः ल हो भने हो । मैले ८० प्रतिशत नै नाफा राखेको छु । लेखिदिनुस् ।
यो पश्नोत्तर नेपालमा बजाज कम्पनीका मोटरसाइकलका आधिकारिक बिक्रेता हंशराज हुलासचन्द गोल्छा कम्पनीका मालिक शेखर गोल्छा र नेपालआजबीच भएको हो ।
गोल्छाले बिक्री गर्ने मोटरसाइकलमा उच्च नाफा राखेको खुलासा पहिले नै भएको हो । तर यो कुरा मोटरसाइकल बिक्रेता कम्पनी स्वीकार गर्न राजी छैन । बिक्रेता गोल्छा आफै पनि कानुनले तोके भन्दा बढी नाफा राखेको छैन भनेर कुनै प्रमाण प्रस्तुत गर्न सक्दैनन् । हिसाब मिलेको छैन भन्छन् तर मिलेको हिसाब कस्तो हुन्छ भन्न चाहँदैनन् ।
एउटै मोटरसाइकलबाट ७६ हजारसम्म नाफा असुल्ने बजाजले मोटरसाइकल सोरुमहरुमा खरिद गर्न जाने उपभोक्तालाई बिक्रेताले दिने छुट भनेको एक दुई हजार मात्रै हो । शोरुमवालाहरुले कम छुट दिएको आधारमा धेरैले अनुमान लगाउँछन कि मोटरसाइकलमा नाफा कम हुँदो रहेछ ।
तर मोटरसाइकलमा जति लुट अन्त पाउन मुस्किल रहेछ । यो तथ्य केही अगाडि नेपाल आजमार्फत नै सार्वजनिक भएको थियो । गोल्छा कम्पनीले एउटै मोटरसाइकलबाट ७६ हजार नाफा लिने गरेको भेटिएको छ । नेपाल आजलाई प्राप्त खरिद मूल्य, भन्सार मूल्य र बिक्री मूल्यको हिसाव गर्दा ३ लाख २३ हजार ६५५ मा भन्सारसहित ल्याइएको बाइकलाई ४ लाखमा बेचिएको देखिन्छ । हिसाव प्रष्ट छ, गैरकानूनीरुपमा बजाजले बाइक बिक्री गरिरहेको छ । डिस्कभर १२५ ड्रम बाइकमा ४१ प्रतिशत नाफा हंसराज कम्पनीले असुल्ने गरेको छ । १ लाख २२ हजार पाँच सय १० मा (राजस्वसहित) ल्याएको बाइक कम्पनीले एक लाख ७२ हजा ९ सयमा बेच्ने गरेको छ ।
प्राप्त भएको गोप्य विवरण आनुसार डिस्कोभर १५० ड्रममा कम्पनीले ३६ प्रतिशत नाफा खाने गरेको छ । पल्सर २०० आरएस बाइकमा २३ प्रतिशत नाफा देखिएको छ । पल्सर, प्लाटिना र डिस्कभर वाइकलगायतका अन्य मोटरसाईकलमा २० प्रतिशत भन्दा बढी नाफा देखिन्छ । प्रज्ञापनपत्र मा उल्लेखित मूल्यमा भन्सार महसुल जोड्दा करसहितको मूल्य हुन्छ ।
बिक्री मूल्यबाट करसहितको मूल्य घटाउँदा कम्पनीको नाफा निस्किन्छ । मोटरसाईकलमा नेपाल सरकारले १०३ प्रतिशत भन्सार महसुल कायम गरेको छ । यसरी हिसाब गर्दा, पल्सर २२० स्ट्रीट फाइटरमा ७६ हजार दुई सय ४४ रुपैयाँ र डिस्कोभर १५० ड्रममा ४१ प्रतिशत अर्थात पचास हजार तीन सय उनानब्बे रुपैयाँ नाफा देखिन्छ ।
कालोबजार तथा केही सामाजिक अपराध तथा सजाय ऐन २०३२ ले सामान्य अवस्थामा सयकडा २० प्रतिशतभन्दा बढी नाफा लिन नहुने उल्लेख गरेको छ । सो ऐनको दफा ३ मा लेखिएको छ – ‘दफा २ अन्तर्गत मोल निर्धारित भएकोमा बाहेक नेपाल सरकारले तोकेको कुनै माल वस्तुको व्यापार गर्ने व्यक्तिले माल वस्तु र व्यापारको प्रचलन अनुसार सामान्यतया सयकडा २० भन्दा बढी मुनाफा लिएको अवस्थामा वा अभावको लाभ उठाई सो माल वस्तुको अनुचित नाफा लिई बिक्री गरेमा निजलाई ५ वर्षसम्म कैद वा जरिवाना वा दुवै हुन सक्नेछ ।’
ऐनले डिलर, एजेन्ट आदिलाई मुनासिब कमिसन दिन रोकको छैन । तर, यदि डिलर, सब डिलर गरेर तीन तह बनाउने र सबैमा सयकडा २० प्रतिशत मुनाफा राख्ने हो भने कुनै पनि वस्तुमा न्यूनतम ६० प्रतिशत नाफा राख्नै पर्ने हुन्छ । ऐनले निर्दिष्ट गरेका प्रावधानको अपव्याख्या गरेर पनि केही व्यापारीले मूल्य तोक्ने गरेको पाइएको छ ।उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँ भन्छन, ‘भन्सार तिरेपछि कायम हुने मूल्यमा अधिकतम २० प्रतिशत नाफा राख्न पाइन्छ । तर व्यापारीहरुले त्यसरी मूल्य राख्दा त व्यापार चलाउन सक्दैनौं भन्ने गरेका छन् । सक्नु हुन्न भने उपभोक्ता लुट्ने व्यापार बन्द गर्नुस भन्ने गरेका छौं ।’
कालोबजारी गर्नेलाई जिल्लामा प्रमुख जिल्ला अधिकारीले पनि कारबाही गर्न सक्छन् । त्यस्ता व्यापारीलाई पक्राउ गर्ने, अनुशन्धान गरेर मुद्धा चलाउन सक्ने व्यवस्था छ । तर काठमाडौंका प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीले भने, ‘त्यो मेरो क्षेत्राधिकारभित्र पर्दैन । ट्राफिक प्रहरीले गर्ने काम हो त्यो ।’
bajaj golcha