विदेश

दक्षिण कोरियाली राष्ट्रपति अमेरिका जादै

दक्षिण कोरियाली राष्ट्रपति अमेरिका जादै

 

सोल, १२ असार । दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इन संयुक्त राज्य अमेरिकाको भ्रमणका लागि त्यसतर्फ जान लागेका छन्।

उनी सो भ्रमणमा जान लागेको समाचार सोमबारका कोरियाली मिडियाले दिएका छन् । उनी यसै हप्ता अमेरिका जान लागेको र त्यहाँ उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ता गर्ने बताइएको छ ।

पछिल्लो समयमा उत्तर कोरियाले दक्षिणका विरुद्धमा भन्दै आणविक परिक्षणका साथै दक्षिणको विरोध गरेका अभिव्यक्तिहरु आक्रामक रुपमा दिने गरेको छ ।

यस्तो अवस्थामा दक्षिणका राष्ट्रपतिले अमेरिकाको भ्रमण गर्न लागेका छन् । उनले यसै विषयमा अमेरिकी राष्ट्रपति ट्रम्पसँग पनि भेटवार्ता गर्ने समाचारमा जनाइएको छ ।

उनले यसअघि दिएको एक अभिव्यक्तिमा आफूले पहिलो भ्रमण उत्तर कोरियाको गर्ने बताएका थिए । तर त्यो नभएर उनले अमेरिकाकै भ्रमण गर्न लागेकाे अधिकारीहरुले जनाएका छन् ।

उनले स्पष्ट बहुमतका साथ गत महिनामात्र दक्षिण कोरियाको राष्ट्रपतिमा निर्वाचित भएका हुन् । उनी राष्ट्रपति भएपछिको यो नै पहिलो विदेश भ्रमण हो ।

उत्तर कोरियाले बारम्बार अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डका साथै अन्य प्रचलित कानुनको उल्लङ्घन गर्दै आणविक परीक्षण गरिरहेको छ ।

अमेरिकी रक्षामन्त्री जिम म्याटिसले उत्तर कोरिया एक खतरनाक धम्की हाे भनेका छन् । उनले उत्तर कोरियालाई यसरी बारम्बार आणविक परीक्षण गर्न दिनु भनेको भोलिका लागि विश्वकै खतरा भएकाे बताए ।

त्यस्तै अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाको हतियार कार्यक्रम आफ्नो विदेश नीतिको प्राथमिकतामा नै परेको भनाई बारम्बार दोहार्याउँदै अाएका छन् ।

संयुक्त राष्ट्रसंघ, अमेरिका, दक्षिण कोरिया लगायत विश्वले नै बारम्बार हतियारको दम्भ प्रदर्शन नगर्न भन्दै चेतावानी दिइरहँदा पनि उत्तरले आफ्नो आणविक परीक्षणको काम भने रोकेको छैन ।

यसैबीच उत्तर कोरियाले अमेरिकाका विरुद्धमा आइतबार प्योङयाङमा विरोध प्रदर्शन गरेको प्राप्त अर्काे एक समाचारमा जनाइएको छ ।

प्राप्त समाचारअनुसार उत्तर कोरियाले अमेरिकाका विरुद्धमा सङ्घर्ष सुरु गरेको दिनको स्मरणरुप भन्दै आइतबार विशाल जुलुसको आयोजना गरेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् ।

उक्त जुलुसमा सत्ताधारी वर्कर्स पार्टीका उच्च अधिकारीका साथै त्यहाँको सरकारी ओहदामा रहेका उच्च पदस्थ सरकारी अधिकारीसमेत सहभागी भएका सो समाचारमा उल्लेख छ ।

जुलुसमा सबै क्षेत्रमा कोरियाली नागरिकको सहभागिता रहेको थियो । सहभागीले कोरियाली प्रायद्वीपमा युद्ध सुरु भएको दिन जुन २५ को स्मरण गरेको जनाएका थिए ।

सन् १९५० को जुन २५ मा कोरियाले अमेरिकाको विरुद्धमा संघर्ष सुरु गरेको जनाएको थियो । त्यस संघर्षका लागि पनि अमेरिकालाई दोषी ठह¥याएका कोरियाली केन्द्रीय समाचार संस्था (केएनसीए) ले बताएको छ ।

जुलुसमा सहभागी कोरियालीले आफ्ना नागरिकविरुद्ध अमेरिकाले अन्याय गरेको र उनीहरूले यस्तो क्रुरता र अन्यायपूर्ण ब्यवहार कहिल्यै नबिर्सने बताएका केएनसीएले जनाएको छ । 

विशेष