विदेश

असद सिरियामा घातक हमलाको तयारीमाः अमेरिका

असद सिरियामा घातक हमलाको तयारीमाः अमेरिका

 

असार - १३ । सिरियाली राष्ट्रपति बसर अल असद सिरियामा घातक रासायनिक हमलाको तयारीमा रहेको संयुक्त राज्य अमेरिकाले जनाएको छ । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले सिरियाले यस्तो घातक हमलाको तयारी गरिरहेको सूचना अमेरिकाले प्राप्त गरेको जानकारी दिएको हो ।

ह्वाइट हाउसले जनाएअनुसार सिरियाली राष्ट्रपति असदले गत वर्ष पनि यस्तै हमला गरेका थिए र अहिले पनि उनले त्यो घातक हमलाको लागि भित्रभित्रै तयारी गरिरहेको जसबाट कैयौँ सर्वसाधारणको ज्यान जाने देखिएको छ । ह्वाइटहाउसले मङ्गलबार प्रकाशन गरेको विज्ञप्तिमा यदि त्यस्तो भयो भने यसबाट सिरियालाई ठूलो मूल्य चुकाउनुपर्ने अवस्था आउने चेतावानी दिइएको छ ।

ह्वाइट हाउसका प्रवक्ता सिन स्पाइसरले विज्ञप्ति प्रकाशन गरी भनेका छन् – 'असदले अर्को शक्तिशाली रासायनिक हतियार आक्रमणको योजना बनाएको छ र यसबाट आम नरहसंहार हुने देखिएको छ । यदि त्यसो भयोभने सिरियाले महङ्गो मूल्य चुकाउनुपर्ने हुनसक्छ ।' यसअघि पनि सिरियाले गरेको यस्तै आक्रमणमा बालबालिका, महिला लगायत निर्दोष नागरिकको ज्यान गएको थियो ।

सिरियामा सन् २०११ देखि अर्थात विगत छ वर्षभन्दा लामो समयदेखि हिंसा मच्चिएको छ । सो हिंसामा परी तीन लाखभन्दा बढी नागरिकको ज्यान गएको छ । सन् २०११ को मार्च महिनादेखि राष्ट्रपति असादको राजिनामाको मागगर्दै सुरु भएको प्रजातान्त्रिक आन्दोलनले पछि हिंसात्मक रुप लिएको थियो । हाल त्यहाँ गृहयुद्ध नै चलिरहेको छ र दिनहूँजसो नागरिकको ज्यान जाने गरेको छ ।

विशेष