मतपेटिकामा तेजाब हालेपछि स्थगित मतदान पुनः सुरु
असार - १४ । मतपेटिकामा तेजाब हालेपछि स्थगित रोल्पा नगरपालिका– १० स्थित जनता आधारभूत विद्यालय भवनमा मतदान केन्द्रको मतदान प्रक्रिया पुनः सञ्चालन भएको छ ।
सर्वदलीय बैठकको निर्णयानुसार स्थगित मतदान पुनः सञ्चालन गर्ने सहमति भएपछि अहिले त्यहाँ मतदान सुरु भएको मतदान अधिकृत भरतमणि पाखे्रेलले जानकारी दिए ।
एक सय ५० मत खसिसकेपछि एक अपरिचित व्यक्तिले लुकाएर लगेको तेजाब मतपेटिकामा खन्याएपछि मतपेटिकामा रहेका १५ मत जलेको बताइएको छ । सर्वदलीय बैठकपछि मतदान नगरेकाहरुलाई मात्र मतदान प्रक्रियामा समावेश गराइएको छ ।
यसैबीच घटनास्थलतर्फ जान भनी सदरमुकामबाट हिँडेको मुख्य निर्वाचन अधिकृत कमलप्रसाद ज्ञवालीको टोली बाटामा गएको पहिराका कारण सदरमुकामतर्फ फिर्ता भएको छ ।
यसैगरी थवाङमा समेत शान्तिपूर्ण ढङ्गले मतदान भइरहेको बताइएको छ । नेकपाका कार्यकर्ताले नेपाली काँग्रेससँग सहकार्य गरी स्वतन्त्र उम्मेदवारी दिएपछि थवाङीहरु निर्वाचनमा सहभागी भएसँगै त्यहाँको सुरक्षा अवस्था सहज भएको छ । जिल्लामा हालसम्म करिब ५५ प्रतिशत मत खसिसकेको बताइएको छ ।