विदेश

 दक्षिण कोरियाली राष्ट्रपति मुन अमेरिका प्रस्थान

 दक्षिण कोरियाली राष्ट्रपति मुन अमेरिका प्रस्थान

असार - १४ । दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इन संयुक्त राज्य अमेरिकाको भ्रमणका लागि बुधबार त्यसतर्फ प्रस्थान गरेका छन् । राष्ट्रपति मुनको यो पहिलो विदेश भ्रमण हो । उनी महिना दिन अघि मात्र दक्षिण कोरियाको राष्ट्रपतिमा स्पष्ट बहुमतका साथ निर्वाचित भएका थिए ।

उनी यसै हप्ता अमेरिका जान लागेका र त्यहाँ उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ता गर्ने समाचार यसअघि नै कोरियाली सञ्चारमाध्यममा आएको थियो ।

अमेरिका प्रस्थान गर्नुअघि राष्ट्रपति मुनले आफ्नो अमेरिका भ्रमणका समयमा आफूले उत्तर कोरियाका कारण कोरियाली प्रायद्वीपमा जारी रहेको अशान्तिको अवस्था हटाउन निशस्त्रीकरणका विषयमा वार्ता गर्ने बताएका थिए।

उनले कोरियाली प्रायद्वीपमा क्षेत्रीय शान्ति र स्थायित्वका लागि आफूले अमेरिकी राष्ट्रपति ट्रम्पसँग आवश्यक परामर्श गर्ने र भ्रमणका क्रममा हुने वार्ताले आपसी हित र द्विपक्षीय सम्बन्ध सुदृढिकरणमा सहयोग पु¥याउने बताए ।

उत्तर कोरियाले पछिल्लो केही समययता दक्षिणको आग्रहका विरुद्ध आणविक परीक्षणलाई जारी राखेको छ । साथै दक्षिण कोरियाको विरोधका अभिव्यक्तिहरु उत्तर कोरियाले आक्रामक रुपमा दिने गरेको छ । राष्ट्रपति मुनले यस विषयमा पनि अमेरिकी राष्ट्रपति ट्रम्पसँग भेटवार्ता गर्ने समाचारमा जनाइएको छ ।

उत्तर कोरियाले बारम्बार गर्ने गरेको यस्तो आणविक परीक्षणले अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डका साथै प्रचलित कानुनको उल्लङ्घन गरेको प्रतिक्रिया दक्षिण कोरियाको छ ।

 

विशेष