विदेश

हङकङलाई चिनकाे निरन्तर सहयोग रहने

हङकङलाई चिनकाे निरन्तर सहयोग रहने

असार १५ । चिनियाँ राष्ट्रपति सि जिनपिङले विशेष प्रशासित क्षेत्र हङकङ्लाई चीन सरकारले सधैँ सहयोग गर्ने बताएका छन् ।

उनले भने – केन्द्र सरकारका हैसियतबाट चीनले आफ्नो विशेष प्रशासित क्षेत्र हङकङ्को विकास र त्यहाँका नागरिकको उन्नतिका लागि चीनले सधैँ सहयोग गर्नेछ ।

हङकङ् सहर बेलायतले चीनलाई हस्तान्तरण गरेको २० औँ वार्षिकोत्सव तथा त्यहाँको सरकारको पाँचौ बार्षिकोत्सवका अवसरमा हङकङ्मा आयोजना हुने विशेष कार्यक्रमलाई सम्बोधनका लागि उनी बिहीबार हङकङ् पुगेका छन् ।

चिनियाँ सरकारी समाचार समिति सिन्ह्वाले दिएको जानकारी अनुसार राष्ट्रपति सि बिहीबार बिहान हङकङ् पुगेका छन् । बिहीबार बिहान हङकङ् अन्तर्राष्ट्रिय बिमानस्थलमा सम्वाददाताहरुसँग प्रतिक्रिया दिँदै उनले हङकङ्को बिकासका लागि चीन प्रतिबद्ध रहेको बताएका हुन् ।

उनी तीन दिनसम्म हङकङ्मा रहने कार्यक्रम रहेको छ । उनले हङकङ् हस्तान्तरणको २० वर्षको अवसरमा आयोजित बिशेष समारोहलाई पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

उनी हङकङ् ओर्लिएपछि विमानस्थलमा रहेका एकजना हङकङ्का पत्रकारले सोधेको प्रश्नको छोटो जवाफमा उनले हङकङ् सम्पन्न र समृद्ध हुने बताएका थिए । हङकङ्लाई सन् १९९७ देखि केन्द्रीय सरकारको रुपमा चीनले सबै सहयोग गर्दै आएको छ ।

उन सन् २०१३ मा चीनको राष्ट्रपति भएपछिको यो पहिलो हङकङ् भ्रमण हो । हङकङ्मा केही समययतादेखि स्वतन्त्रताको आन्दोलन सुरु भएको छ । सो आन्दोलनमा चीनले अंकुश लगाएको भनी व्यापक मात्रामा प्रचार भएको थियो ।

त्यसैले पनि यस्तो अवस्थामा चिनियाँ राष्ट्रपतिले हङकङ् भ्रमण नगर्न पनि सक्ने अनुमान सर्वत्र गरिएको थियो । तर आज उनी हङकङ् पुगेकाे समाचार सार्वजनिक भएको छ ।

हङकङ् हस्तान्तरण गरिएको समयको अवसर पारेर हङकङ्मा प्रदर्शनको तयारी पनि गरेको समाचार विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएपछि त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको अर्को एक समाचारमा जनाइएको छ । 

Hongkong and china

विशेष