News

नयाँ प्रधानमन्त्रीको निर्वाचन जेठ २१ गते

नयाँ प्रधानमन्त्रीको निर्वाचन जेठ २१ गते

जेठ २० । नयाँ प्रधानमन्त्री चयनका लागि यही जेठ २१ गते बिहान ११ बजे व्यवस्थापिका–संसद्मा निर्वाचन हुने कार्यतालिका सार्वजनिक भएको छ ।

सभामुख ओनसरी घर्तीले आज राजनीतिक दलका नेताहरुसँगको छलफल र कार्यव्यवस्था परामर्श समितिको बैठकपछि सो दिनका लागि निर्वाचनको मिति तोकेकी हुन् । प्रधानमन्त्री पुष्ष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली काँग्रेससँगको सत्ता साझेदारीबमोजिम यही जेठ १० गते राजीनामा दिएपछि राष्ट्रपतिले सहमतिमा नयाँ सरकार गठन गर्न दिएको एक साताको समयमा सहमति नभएपछि बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयन हुन लागेको हो ।

सभामुखको आदेशबमोजिम व्यवस्थापिका–संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले सार्वजनिक गरेको कार्यतालिकामा यही जेठ २० गते बिहान ११ बजेदेखि ४ बजेसम्म व्यवस्थापिका–संसद्का कुनै सदस्यले आफूलाई ‘नेपालको संविधानको धारा २९८ को उपधारा ९३० बमोजिम प्रधानमन्त्री पदमा निर्वाचित गरियोस्’ भनी अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा उम्मेदवारी सूचना दर्ता गरिने र सोही दिन अपराह्न ४ः३० बजे उम्मेदवारीको सूचना प्रकाशन गरिने उल्लेख छ । उम्मेदवारको सूचना प्रस्तुत गर्दा समर्थक र प्रस्तावकसहित गर्नुपर्नेछ । व्यवस्थापिका–संसद् नियमावली, २०७३ को नियम ४९ को उपनियम ९२० बमोजिम सभामुखले प्रधानमन्त्रीको निर्वाचनको मिति ताेकिएकाे संसद् सचिवालयले जनाएको छ ।

सभामुखले कार्यतालिका सार्वजनिक गर्नुपूर्व भएको प्रमुख तीन दलका नेता र प्रमुख सचेतकको बैठकमा प्रमुख प्रतिपक्ष नेकपा एमालेले भने संसद्को बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त बहुमतका आधारमा प्रधानमन्त्री चयन गर्नेसम्बन्धी सूचना पत्र प्रस्तुत भइनसकेकाले सूचना टाँसका आधारमा निर्वाचन प्रक्रिया अघि नबढाउन आग्रह गरेको थियो । भरतपुर महानगरपालिकाको मतगणना सञ्चालन नभएसम्म संसद्को बैठक चल्न नदिने र प्रधानमन्त्री चयन प्रक्रिया प्रारम्भ हुन नहुने अडान राखी एमालेले बुधबार र बिहीबारको संसद् बैठक अवरोध गरेका कारण राष्ट्रपति कार्यालयको उक्त पत्र प्रस्तुत हुन पाएको थिएन ।

सत्तारुढ नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरुले भने सूचना टाँस गरेर भए पनि मनोनयनको प्रक्रिया अघि बढाउन सुझाव दिएका थिए । भरतपुरको मतगणनास्थलमा ९० मतपत्र च्यातिएका कारण गणना स्थगन भएको छ । यसबारे निर्वाचन आयोगले अर्को निर्णय दिएको छैन ।

कार्यतालिका सार्वजनिकको निर्णयपछि सभामुख घर्तीले दलको परामर्शका आधारमा आफूले विधि र परम्परानुसार सूचना प्रकाशन गरेको बताउँदै प्रधानमन्त्रीको निर्वाचनमा सबै दलको सहभागिता र सहयोग हुने अपेक्षा व्यक्त गरे । उनले प्रमुख प्रतिपक्षले पनि विधि र प्रक्रियालाई मान्दै आएको बताउँदै यसबीचमा उत्पन्न असमझदारीलाई दलहरु आपसमा बसेर निष्कर्षमा पुग्ने विश्वास व्यक्त गरे ।

एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले भने संसद् सञ्चालन भएको अवस्थामा मात्र प्रधानमन्त्री चयनको प्रक्रिया अघि बढोस् भन्दै बरु त्यसपछिको प्रक्रियालाई छिटो गराउन आफूहरुले सहयोग गर्ने बताए । उनले भने , “बाहिर बाहिर सूचना टाँसेर गर्ने हो भने प्रधानमन्त्रीको निर्वाचन र सपथ पनि संसद् बाहिरै गर्दा हुन्छ, बाँकी निर्णय सभामुखमा भर पर्छ ।”

काँग्रेसका नेता एवम् मन्त्री रमेश लेखकले पहिलो स्थानीय चरणको निर्वाचन भइसकेको र दोस्रो चरणको मिति तय भई प्रधानमन्त्रीको राजीनामा आएका अवस्थामा राजनीतिक आवश्यकता, विधि र परम्परानुसार नयाँ प्रक्रिया प्रारम्भ हुनु आवश्यक भएको बताए । माओवादी केन्द्रका नेता एवम् उपप्रधानमन्त्री कृष्णबहादुर महराले विपक्षीले सदन अवरोध गरे पनि प्रधानमन्त्री चयनलाई रोक्न मिल्दैन भन्दै सोहीबमोजिम सभामुखलाई सुझाव दिइएको बताए ।

primeminister

विशेष