‘माओवादीले हाम्रा नौजनाको हत्या गर्यो, हामीले साठ्ठी माओवादी ढाल्यौं ’
सुस्ता जोगाउन वर्षौंदेखि लडिरहेका ‘मुरारी पहलवान’
जेठ–२२ । नवलपरासीको सुस्तामा ४० सालमा भारतीय प्रहरीका इजरायल खानको टोलीले नेपाल भारत छुट्याउने पिलर उखालेर फालिदियो । त्यसको प्रतिकार स्थानीयले गरे । त्यो क्रममा नेपाल तिरका तीन जनालाई भारतीय फौजले गोली हानी हत्या गर्यो । झडपको श्रृंखला त्यतिमै रोकिएन । पटक पटक भारतीय फौजसँग हानाहान भइरह्यो । नेपालतिरका जनताले तिनै इजरायल खानको हतियार खोसे । त्यो क्रममा भएको झडपमा ती इजरायल खान भन्ने भारतीय प्रहरी पनि मारिए । यो घटनाको केन्द्रमा थिए – मुरारी पहलवान ।
त्यो बेलाको घटना सम्झदै मुरारी भन्छन्, ‘भारतीय प्रहरीसँगको झडपमा हाम्रो साथी मुन्ना खाँलाई पाँच वटा गोली लाग्यो । उसलाई बोकेर अस्पताल पुर्याएँ । काठमाडौं ल्याएँ । अस्पतालमा ३ महिना राखेर उपचार गराएँ ।’
त्यो बेलादेखिको सुस्ता विवाद समाप्त भएको छैन । पटक पटक नेपाली भूमि अतिक्रमणका घटनाहरु आउँदै जाँदै गरेका छन् । भूमि विवादका बेला नेपालतिरका भोजपुरी भाषी नेपालीहरुले भारतीय फौजसँग पटक पटक ‘कहाँ उखड्त हो सर, यी नेपाल ह’ भनेको उनी सम्झन्छन् । अर्थात यो नेपालको भूमि हो पिल्लर किन उखाल्नु हुन्छ भनेर स्थानीय किसानहरुले भारतीय फौजलाई भन्ने गर्थे ।
सीमामा पिल्लर नभएपछि स्थानीयले नै काठको पिल्लर गाडे । सुस्ताको विवाद अहिले पनि छ । नेपालले सुस्तामा आफ्नो जमिन अतिक्रमणमा परेको दाबी गरिरहेको छ । भने भारतले विवादित भनेको छ ।
सीमाको बास भएका कारण वारिपारि गरिरहनु पर्ने हुन्छ । खुला सीमाका कारण भारततिरका अपराधिहरु भारतमा अपराध गरेर नेपाल लुक्न आउने, नेपालमा अपराध गरेर भारतमा लुक्न जाने चलन छ । खुला सीमाको फाइदा अपराधीहरुले पनि उठाएका छन् ।
भारतीय फौजसँगको भिडन्तको कहाँनीपछि पनि मुरारी पहलवानले हतियार नसमाई बस्ने अवस्था भएन । किनभने ५८ सालमा माओवादीले उनलाई अपहरण गरेर तम्घाससम्म पुर्यायो । डेढलाख भारु फिरौती दिएर उनी माओवादीको अपहरणबाट मुक्त भए । त्यसपछि पनि पटक पटक ४०–५०–६० हजार रुपैयाँ माग्न माओवादी आउन थाले । माओवादीलाई पैसा दिन सक्दिन के भनेका थिए, मुरारीको कन्चटमा उनीहरुले पेस्तोल दागी हाले । उनी भन्छन्, ‘मर्ता क्या नही कर्ता भने झै हजुर, माओवादीसँग प्रतिकार गर्नु पर्ने अवस्था आयो । किनभने उनीहरुलाई दिनका लागि मसँग पैसा थिएन ।’
५८ सालमै कन्चटमा पेस्तोल तेस्र्याउँने माओवादीसँग प्रतिकार गर्दा दुई माओवादी मारिए । त्यसपछि उनको हिसाब माओवादीसँग हुन थाल्यो । माओवादीविरुद्धको प्रतिकारमा मुरारीले आफ्ना भतिजा गुमाए । इष्टमित्र गुमाए । भाग्यले उनी बाँचे । २ वर्ष चार महिनामा माओवादीले मुरारीको प्रतिकार समितिका ९ जनाको हत्या गरिदियो भने मुरारीको समूहले साठ्ठी जनालाई सफाया गर्यो ।
प्रशासनले माओवादीविरुद्ध प्रतिकार गर्न मुरारी पहलवानको समूहलाई २४ वटा दुई नाले बन्दुक उपलब्ध गराएको थियो । १२ वटा चाहीँ उनीहरु आफैले खोजेका थिए ।
नवलपरासीको सुस्ता गाउँपालिका वडा नम्बर ५ का मुरारी पहलवानले शान्ति सम्झौतापछि केही हतियार प्रशासनलाई नै फिर्ता गरिदिए । बाँकी हतियार मानवअधिकारकर्मी पत्रकार आदिको रोहबरमा आगोमा जलाइदिए ।
१० वर्षयता भने मुरारी पहलवानलाई लडाई मारकाटबाट टाढा हुन मन लागेको छ । उनी आफ्नो पहिचान, धर्म, संस्कृति बारे बढी सचेत छन् । अनिल बस्नेत (बाबा)नेतृत्वकाे शिव सेना नेपालमा उनी केन्द्रीय सदस्य छन् ।
माओवादीविरुद्ध लडेको मान्छे कसरी शिव सेनामा ? भन्ने प्रश्नमा उनी भन्छन्, ‘हेर्नुस्, नेपालमा बुहसंख्यक मानिस हिन्दु छन् । संविधान बन्ने बेलामा पनि सबै जनताले हिन्दुराष्ट्रको माग गरेका थिए । तर विदेशीको पैशा खाएर नेपाललाई धर्मनिरपेक्ष बनाए नेताहरुले । अब एकपटक यी नेताविरुद्ध नै लड्नु पर्ने भएर शिव सेनामा क्रियाशील भएको हुँ ।’
शिव सेनामा त्यसमा पनि अध्यक्ष अनिल बस्नेतकाे नेतृत्व क्षमतामाथि मुरारी पू्र्ण विश्वस्त छन उनी । भन्छन्, अनिल बस्नेतजस्ताे नेतृत्व पाउँदा शिव सेनाले गर्न नसक्ने भन्ने केही पनि छैन ।