मोदीको अभिव्यक्तिले चीन किन खुसी ?
जेठ २२ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रुसमा दिएको एक बयानलाई चीनले सोमवार स्वागत गरेको छ । भारत र चीनका बीच सीमा विवाद भएपनि विगत ४० वर्षयता सीमामा एउटा पनि गोली नचलेको भन्दै मोदीले बयान दिएका थिए ।
चीनको परराष्ट्र मन्त्रालयकी प्रवक्ता हुआ चुनयिङलाई मोदीको टिप्पणीका बारेमा सोध्दा उनले भनिन्, ‘हामीले प्रधानमन्त्री मोदीको सकारात्मक टिप्पणीलाई नोट गरेका छौं । हामी यसको स्वागत गर्छौं ।’
मोदीले संसार अहिले एकअर्कासँग जोडिएको र अन्तर्निर्भर रहेको बताउँदै भारत र चीनका बीच सीमा विवाद भएपनि व्यापार र लगानीमा सहयोगका लागि कुराकानी गर्नुपर्ने बताए ।
मोदीले सेन्ट पिटर्सबर्ग अन्तर्राष्ट्रिय आर्थिक मञ्चको बैठकमा परिचर्चा हुँदा भनेका थिए, ‘हामीहरूका बीच सीमा विवाद छ । तर ४० वर्षमा सीमा विवादका कारण एक गोली पनि चलेको छैन ।’
मोदीको टिप्पणीमा हुआले भनिन्, ‘चीन र भारतका बीच द्विपक्षीय सम्बन्धमा ठोस, निरन्तर र गहिरो प्रगति आवश्यक छ ।’
एजेन्सी
Modi Obama