विदेश

बेलायती प्रधानमन्त्री मेको राजीनामा माग

बेलायती प्रधानमन्त्री मेको राजीनामा माग

जेठ २३ । बेलायती प्रतिपक्षी नेता जेरमी कर्बिनले वर्तमान् प्रधानमन्त्री थेरेसा मेले ६ वर्षसम्म गृह मन्त्रालय सम्हाल्ने क्रममा प्रहरी अधिकारीको दरबन्दी संख्या घटाउनु गलत भएको भनी उनको राजीनामा आउनुपर्ने बताएका छन् ।

कर्बिनले प्रहरी बलमा भएको दरवन्दी कटौतीले बेलायतमा सुरक्षा अवस्थामाथि आवश्यक ध्यान पुग्न नसकेको भन्दै प्रधानमन्त्रीको आलोचना गर्दै विभिन्न समूहले राजीनामा माग गरेकोमा आफ्नो समर्थन जनाएका हुन् ।

तीन महिनाको दौरानमा तीन पटक आतंकवादी हमला भएको प्रसंग बताउँदै प्रहरी दरबन्दी घटनाउनु वर्तमान् प्रधानमन्त्रीको गलत निर्णय भएको कर्बिनको दाबी छ ।

राज्यप्रति संवेदनशील रुपमा सोच्नसक्ने धेरै जनताले मेले गृहमन्त्री सम्हालेका बेला गरेको दरबन्दी कटौती गर्ने निर्णय गलत भएको जनाउँदै कर्बिनले भने,–‘हामीले प्रहरी संख्या कुनै हालतमा घटाउनु हुँदैनथ्यो, घटाएकाले सुरक्षामा समस्या देखियो ।’

यसअघि सोमबारै प्रधानमन्त्रीले आफ्नो पूर्व निर्णयलाई रक्षा गर्दै लन्डनको महानगरीय प्रहरी बल स्रोतले सशक्त रहेको जनाउँदै आतंकवादविरोधी अभियान सञ्चालन गर्न क्षमतावान एवम् शक्तिशाली रहेको बताएकी थिइन् ।

विशेष