दार्जिलिङमा हिंसा रोकियो, तनावको स्थिति कायमै
जेठ २६ –भारतको दार्जिलिङमा शुक्रवार पनि तनावको स्थिति कायम रहेको छ । गोर्खा जनमुक्ति मोर्चा (गोजमो) का समर्थकले बिहीवार प्रहरीसँगको भिडन्तमा प्रहरीको वाहन भत्काएको र आगो लगाएको आरोप छ ।
हिंसाका ताजा घटना भने भएका छैनन् ।
गोजमोले शुक्रवार १२ घन्टे आमहडताल घोषणा गरेपछि दार्जिलिङ ठप्प छ ।
सेनाले कालिम्पोङ, दार्जिलिङ र खर्साङमा झण्डा मार्च गरेको छ । गोजमोका कार्यकर्ताले बिहीवार प्रहरीमाथि ढुंगामुढा गरेको र आगजनी गरेकोले १५ जना घाइते भएका छन् ।
रक्षा मन्त्रालयका एक प्रवक्ताले सेनाका ६ पंक्ति परिचालित गरिएको बताए । तीमध्ये तीन दार्जिलिङमा, दुई कालिम्पोङमा अनि एक खर्साङमा छन् । प्रत्येक पंक्तिमा ४३ जवान छन् ।
नेपाली भाषा बोल्ने दार्जिलिङवासीमाथि पाठ्यक्रममा बंगाली भाषा थोपरिएको विरोधमा आन्दोलन भइरहेको हो ।
एजेन्सी