News

मूल्यवृद्धि अझै घट्यो, विप्रेषण वृद्धिदर सुस्त

मूल्यवृद्धि अझै घट्यो, विप्रेषण वृद्धिदर सुस्त

जेठ २६ । चालु आर्थिक वर्षको वैशाख महिनामा मूल्यवृद्धिमा अझै सुधार आएको छ ।

नेपाल राष्ट्र बैंककाअनुसार वैशाखमा वार्षिक बिन्दूगत उपभोक्ता मुद्रास्फीति ३।४ प्रतिशत कायम भएको छ । गत चैत महिनामा ३ दशमलव ८ प्रतिशत रहेको थियो भने २०७३ वैशाख महिनामा मुद्रास्फीति १० प्रतिशत रहेको थियो ।

गत वर्षको आधार मूल्यको प्रभाव र आपूर्ति व्यवस्थामा आएको सुधारका कारण समीक्षा अवधिमा मूल्यवृद्धिमा कमी आएको राष्ट्र बैंकले जनाएको छ ।

समीक्षा अवधिमा खाद्य मुद्रास्फीति ०.२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खाद्य मुद्रास्फीति ९.६ प्रतिशत रहेको थियो ।

यस समूहअन्तर्गतको दलहन तथा गेडागुडीको मूल्यमा १३.४ प्रतिशत, तरकारीको मूल्यमा १३.१ प्रतिशत र घ्यू तथा तेलको मूल्यमा १।९ प्रतिशतले कमी आएकोले समग्र खाद्य मुद्रास्फीति न्यून रहन गएको हो ।

समीक्षा अवधिमा गैरखाद्य मुद्रास्फीति ६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति १०.४ प्रतिशत रहेको थियो ।

चालु आर्थिक वर्ष २०७३-७४ को प्रथम १० महिनासम्मको उपलव्ध तथ्यांकलाई विश्लेषण गर्दा मुलुकको आर्थिक परिदृश्य सकारात्मक देखिएको राष्ट्र बैंकले जनाएको छ ।

आगामी वर्षहरुमा पनि उच्च आर्थिक वृद्धि कायम गर्ने कार्य पुनःनिर्माण, ठूला परियोजनाहरुको कार्यान्वयन तथा ऊर्जा आपूर्तिको व्यवस्थापनमा निर्भर हुने केन्द्रीय बैंकको भनाइ छ ।

विप्रेषण आप्रवाह वृद्धिदरमा भने सामान्य सुस्तता आउँदै गरेको छ ।

समीक्षा अवधिमा विप्रेषण आप्रवाह ५.२ प्रतिशतले वृद्धि भइ रु. ५६६ अर्ब ९७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १०.२ प्रतिशतले वृद्धि भएको थियो ।

विप्रषेण आप्रवाहको सुस्त वृद्धिले निक्षेप वृद्धिलाईसमेत प्रभावित बनाएकाले आगामी दिनमा वित्तीय घर्षण कम गर्न निक्षेप र कर्जा वृद्धिको अन्तराल कम गर्दै लैजानुपर्ने देखिएको राष्ट्र बैंकले उल्लेख गरेको छ ।

विशेष