विदेश

रसियामा पश्चिमी मुलुकबाट खाद्यान्न आयातमाथिको प्रतिबन्ध जारी रहने

रसियामा पश्चिमी मुलुकबाट खाद्यान्न आयातमाथिको प्रतिबन्ध जारी रहने

 

असार - १६ । रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमी मुलुकबाट गरिने खाद्यान्न आपूर्तिमा लगाइएको प्रतिबन्धलाई थप १८ महिनाका लागि बढाउने निर्णयमा हस्ताक्षर गरेका छन् । युरोपेली मुलुकले रसियामाथिको प्रतिबन्धलाई बढाएसँगै रसियाद्वारा यो नीति लिइएको हो । 

रसियाली राष्ट्रपति पुटिनको कार्यालयले शुक्रबार पश्चिमा मुलुक विरुद्ध सन् २०१८ को डिसेम्बर ३१ सम्म लागू हुने गरी उक्त निर्णय आएको जनाएको छ । रसियाली प्रधानमन्त्री दिमित्री मादवेदेवले गत बिहीबार प्रतिवन्ध जारी राख्ने प्रस्ताव राष्ट्रपतिसमक्ष पेश गरेका थिए । रसियाली प्रधानमन्त्रीले खाद्यान्न आयातमा लगाइने प्रतिबन्धले रसियाली कृषकलाई सिर्जनात्मक प्रेरणा दिने बताएको जनाइएको छ । 

मस्कोले यसअघि यूरोपियन यूनियनद्वारा आफ्नो देशविरुद्ध लगाइएको प्रतिवन्ध हटाएमा मात्र सन् २०१५ मा शुरु गरिएको ती मुलुकमाथिको प्रतिवन्ध हटाइने जनाएको थियो । इयू र अमेरिकाद्वारा रसियाले क्रिमियालाई रसियामा गाभेको र पूर्वी यूक्रेनको पृथकतावादी आन्दोलनलाई सघाएको भन्दै मस्को विरुद्ध भ्रमण लगायत विभिन्न सामाग्री आयातमा प्रतिवन्ध लगाइएको थियो । 

इयूले गत बुधबार रसियाद्वारा पूर्वी यूक्रेन सम्वन्धमा गरेको शान्ति सम्झौताको उल्लङ्घन गरेको भन्दै छ महिनाका लागि प्रतिबन्धलाई थप गरेको थियो । 

विशेष