व्यापार

नेपालमा मूल्य कम भएपछि भारतीय बजारमा दूध बेच्दै झापाका कृषक

नेपालमा मूल्य कम भएपछि भारतीय बजारमा दूध बेच्दै झापाका कृषक

असार - २८ । झापा गाउँपालिका–६ का पुण्यप्रसाद पौडेल १६ वर्षदेखि भारतको दिघल बैंक बजारमा दूध बिक्री गर्दैअाएका छन् । उनले दैनिक १५० लिटर दूध बिक्री गर्छन् ।

नेपालमा भन्दा भारतीय बजारमा मूल्य बढी पाइने भएपछि उहाँ दूध बिक्री गर्न भारतीय बजार धाउँदै आएका हुन्। “झापाका विभिन्न बजारमा दूधको मूल्यमा एकरुपता छैन,” उनले भने– “हामी कृषकबाट प्रतिलिटर रु ४० मा दूध खरिद गरी डेरीलाई ३८ देखि रु ३९ का दरले बेच्छौँ, त्यही दूध उनीहरु रु ५५ मा बिक्री गर्छन ।”

कनकाई नगरपालिकाको सुरुङ्गास्थित अमृत दुग्ध विकास संस्थामा काम गर्दागर्दै जागिर छाडेर पौडेलले दूध बेच्न थालेका हुन् । पौडेल अहिले भारतीय बजारमा प्रतिलिटर ३० देखि ३५ भारतीय रुपैयाँमा दूध बिक्री गर्छन्। उनी गाउँघरमा ‘दूधवाला’ का नामले परिचित छन् ।

“दूध बेचेरै परिवारको पालनपोषण गर्दैआएको छु,” उनले भने ।

पौडल मात्र होइन भारतसँग सीमा जोडिएका घेरावारी, शरणामती, कुमरखोद, केचना, बनियानीलगायत ठाउँका कृषक दूध बेच्न भारतीय बजार धाउने गरेका छन् । अधिकांश कृषक आफैँ दूध बेच्न भारतीय बजार जाने गरेका छन् भने केहीले दूध संकलकमार्फत दूध बेच्ने गरेका छन् ।

पछिल्लो समय सरकारले पशुपालक कृषकका लागि अनुदान दिन शुरु गरेपछि जिल्लाका पशुपालक कृषकको संख्या बढेसँगै दूध उत्पादनमा समेत वृद्धि भएको छ । आव २०७२/७३ मा रु चार अर्ब ५० करोड बराबरको दूध उत्पादन भएको जिल्ला पशुसेवा कार्यालयका सूचना अधिकारी कुमारसिंह खत्रीले बताए । सो आवमा जिल्लामा दुई हजार ३०० मेट्रिक टन दूध उत्पादन भएको थियो ।

उत्पादन भएको दूधमध्ये ८० प्रतिशत जिल्लामै खपत हुन्छ । पाँच हजार लिटरभन्दा बढी दूध खपत गर्दै आएका एनएमसी डेरी र ऋतिका डेरीबाट कृषक लाभान्वित भएका छन् । जिल्लामा नश्ल सुधारका लागि १२ वटा सामुदायिक प्रजनन केन्द्र, १७ वटा सेवा केन्द्र र निजी क्षेत्रले समेत काम गर्दै आएका कार्यालयले जनाएको छ ।

विशेष