News

आर्थिक र राष्ट्र ऋण विधेयक पारित

आर्थिक र राष्ट्र ऋण विधेयक पारित

 

असार - २९ । व्यवस्थापिका–संसद्को आजको बैठकले ‘आर्थिक विधेयक, २०७४’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७४’ बहुमतले पारित गरेको छ । 

विनियोजन विधेयक यसअघि नै पारित भइसकेको छ । आगामी आव २०७४/७५ को बजेटसँग सम्बन्धित तीन वटै विधेयक संसद्बाट पारित भएपछि साउन १ गतेदेखि नयाँ बजेट कार्यान्वयनमा आउने छ । बैठकमा दुवै विधेयकमाथिको छलफलमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विकासका काम र आर्थिक क्रियाकलाप तीव्रताका साथ अघि बढाउन राष्ट्र ऋण उठाउनु आवश्यक भएको बताए । चालु आवमा रु एक खर्ब ११ अर्ब राष्ट्र ऋण उठाउने प्रस्ताव गरिएकामा ८८ अर्ब मात्र उठाइएको जानकारी दिँदै उनले लगानी प्रवाहमा सहयोगका लागि पनि राष्ट्र ऋण उठाउनुपर्ने स्पष्ट पारे । 

प्रस्तुुत संशोधन प्रस्तावलाई विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कारणले कार्यान्वयन गर्न कठिन छ भन्दै संशोधन प्रस्ताव फिर्ता लिन मन्त्री कार्कीले संशोधनकर्ता सांसदसँग आग्रह गरेका थिए। यसअघि सो विधेयकका सम्बन्धमा सांसद प्रेम सुवाल र डिल्लीराज काफ्लेले दर्ता गराएको संशोधन प्रस्ताव बैठकको बहुमतले अस्वीकृत गरेको थियो । संसद्को अर्काे बैठक आगामी साउन ५ गते अपराह्न १ बजे बस्नेछ ।

विशेष