News

बढी पेन्सनको लोभमा मुख्यसचिव सुवेदी राजीनामा नदिई एडीबीको जागिरमा

बढी पेन्सनको लोभमा मुख्यसचिव सुवेदी राजीनामा  नदिई एडीबीको जागिरमा

असार २९ । मुख्यसचिव सोमलाल सुवेदी निवृत्तिभरण पेन्सन बढाउनका लागि राजीनामा नै नदिईकनै एसियाली विकास बैंक एडीबीको वैकल्पिक कार्यकारी निर्देशक पदमा जागिर खान लागेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक अधिकारीका अनुसार निजामती प्रशासनको नेतृत्व गरिरहेको सुवेदीले थप ३ वर्ष सेवा गरेबराबरको पेन्सन बढाउने लोभमा आफ्नो पद अतिरिक्त समूहमा राखी एडीबीको ३ वर्षे जागिरमा जान लागेका हुन् ।

उनी साउन १ देखि पद सम्हाल्न फिलिपिन्सको मनिला जाँदैछन्। सुवेदीको पेन्सन बढाउन प्रधानमन्त्री शेरबहादुर देउवा र मन्त्रिपरिषद्समेत सहयोगी बनेको स्रोतले जनायो । देउवा र मन्त्रिपरिषद्ले एडीबीमा जागिर खान जान लागेका सुवेदीको राजीनामा माग्नुको साटो उनको पद सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा राखिदिएको छ ।

जेठ ४ गतेको मन्त्रिपरिषद् बैठकले सुवेदीको पद जेठ २८ देखि लागू हुनेगरी सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहको समूहमा राख्ने निर्णय गरिदिएको हो। उनले काज बिदामै रहेर एडीबीको जागिर खानेछन् ।

२०७२ साउन २० मा मुख्य सचिवमा बढुवा भएका सुवेदीको कार्यकाल २०७५ साउन २० सम्म् रहनेछ। एडीबीको जागिर खाँदा पनि सुवेदीको यहाँको पद पनि सुरक्षित रहनेछ। मुख्यसचिवको बाँकी कार्यकाल पूरा गर्दा उनको एक वर्षको पेन्सन सुविधा बढ्नेछ। पदावधि सकिनु एक साताअघि स्वेच्छिक राजीनामा दिँदा थप दुई वर्ष सेवा गरेबापतको पेन्सन पाइने व्यवस्था निजामती ऐन तथा नियमावलीमा छ।

कान्तिपुर

विशेष