विदेश

लिउको विषय हाम्रो आन्तरिक मामिला हो– चीन

लिउको विषय हाम्रो आन्तरिक मामिला हो– चीन

 

असार - ३० । लामो समयदेखि जेलमा रहेर बिहीबार निधन भएका एकजना चिनियाँ अधिकारवादीको विषय आफ्नो आन्तरिक भएको चीन सरकारले जनाएको छ । लामो समयदेखि जेल जीवन बिताएका नोबेल पुरस्कार विजेता चिनियाँ अधिकारकर्मी लिउ जियाओबोको बिहीबार ६१ वर्षको उमेरमा निधन भएपछि विश्व समुदायमा विभिन्न टिकाटिप्पणीहरु आएका छन् ।

यी सबै टिकाटिप्पणीहरुको खण्डन गर्दै चीनले यस विषय चीनको आफ्नो आन्तरिक मामिला भएकोले कुनै पनि टिप्पणी नगर्न सबैलाई आग्रह गरेको हो । विश्वका कतिपय देशले लिउको उपचार चीनले राम्रोसँग नगरेको र पचारका लागि विदेश जान पनि नदिएको बताएका छन् ।

कलेजोको अन्तिम अवस्थाको क्यान्सरबाट पीडित लिउलाई केहीदिन अगाडि राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय दबाबपछि जेलमुक्त गरी उपचारका लागि अस्पताल लगिएको थियो । तर उहाँको उपचारमा त्यति ध्यान नदिइएको विश्व समुदायको भनाई आएको छ ।

उत्तरपूर्वी चिनियाँ प्रान्त सेन्याङमा रहेको फस्ट हस्पिटल अफ चाइना मेडिकल युनिभर्सिटीको कानुन विभागले उनको निधन भएको तथ्य आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरेको छ । उनलाई तीनदिनदेखि सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो ।

तर पनि श्वासप्रश्वास प्रणालीमा अवरोध आएको र बुधबार अवस्था थप कमजोर भएको अस्पताल स्रोतले जनाएको थियो र बिहीबार साँझ नै उहाँको निधन भएको खबर सो अस्पतालले सार्वजनिक गरेको हो ।

चीनले उनको उपचारमा कुनै कसर बाँकी नराखी राम्रोसँग गरिएको बताएको छ । यस विषयमा विदेशीहरुबाट आएका प्रतिक्रियाहरु कुनै पनि साँचो नभएको चीनले जनाएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चेङ सुआङले भने ‘चीन कानुनी शासन भएको देश हो र लिउ जियाओबोका विषयमा गरिएका सबै खाले टिकाटिप्पणीहरु हाम्रा आफ्ना आन्तरिक मामिलाका कुरा हुन् ।’

चीनको शासन व्यवस्थाको पुनःसंरचना गरी आधारभूत मानवअधिकारको उपयोग गर्न पाउनुपर्ने माग सहितको अभियान उनले चालेका थिए । त्यसपछि उनी चीन सरकारको तारो बने।

उनलाई सन् २००८ मा राज्यद्रोहको अभियोगमा पक्राउ गरिएको थियो । त्यसपछि सन् २००९ मा उनलाई ११ वर्षे जेल सजाय सुनाइयो । उनी त्यसयतादेखि नै काराबासको सजायमा रहेका थिए ।

चीन सरकारको जेलमै भएका बेला सन् २०१० मा उनलाई नोबेल शान्ति पुरस्कार दिइएको थियो । त्यसपछि भने उनीमाथि सरकारको थप निगरानी सुरु भएको थियो । त्यस पुरस्कार प्राप्त गर्नका लागि मात्र भए पनि उनलाई जेलमुक्त गर्न भनिए पनि सरकारले दिएको थिएन ।

विदेश मन्त्रालयका प्रवक्ता सुआङले यस विषय चीनको आफ्नो आन्तरिक मामिला भएकोले उनी एकजना व्यक्तिलाई अघि सारेर कुनै पनि विरोधी प्रतिक्रिया नदिन पनि विश्व समुदायलाई आग्रह गरेकाे बताइएकाे छ । 

विशेष