सप्तरी तिलाठीका जनताले किन हरेक वर्षामा अर्काकै कारण दुःख पाउँछन् ? यो पढ्नुहोस
असार ३० । वर्षा लाग्नासाथ तिलाठीवासीको निद्रा खोसिन्छ । सप्तरीमा टन्टलापुर घाम लागे पनि तिलाठी नदीको मुहान चुरे क्षेत्रमा वर्षा हुँदा बाढीको भय हुने गर्छ । तिलाठी क्षेत्र हरेक वर्ष डुबानमा पर्दै आएको छ । बाढीबाट बर्से्नि ठूलो क्षति हुन्छ । सरकारले केही राहत दिने घोषणा पनि गर्छ तर स्थायी समाधान कहिल्यै हुँदैन । थोरै(थोरै राहतभन्दा स्थायी रूपमै बाढी रोक्ने उपाय गरिदिन तिलाठीवासीले सरकारसँग माग गरेका छन् । ’औषधोपचार र खानेकुरा किन्न दैनिक बजार निस्कनुपर्छ’, स्थानीय सीतादेवी यादवले भन्नुभयो, ’बाढी आएका बेला कसरी जानु ? ’
अर्का स्थानीय विनोदकुमार यादवले यो समस्या वर्षौं पहिलेदेखि रहेको भन्दै सरकारले वास्ता नगरेको गुनासो गर्नुभयो । ’अब यसको स्थायी समाधान चाहियो’, उहाँले भन्नुभयो ।तिलाठी डुब्नुको एउटै कारण हो, खाँडो नदी । भारतीय पक्षले बहाव रोक्ने प्रयास गरेपछि यो नदी नेपाली भूमि हुँदै दक्षिण भेगतिर बग्छ । भारतीय पक्षले बाँध बाँधेर खाँडोको पुरानो बहाव परिवर्तन गरेपछि तिलाठी डुब्न थालेको हो । यसको स्थायी समाधानका लागि दुई देश (भारत र नेपाल) बीच तिलाठीलाई भलुवाही खोलामा खसालेर बहाव नियन्त्रण गर्ने सहमति भएको थियो ।
सन् २०१४ मा दुवै देशका प्राविधिकले संयुक्त रूपमा सर्भे गरेर काम अघि बढाउने सम्झौता भए पनि अहिलेसम्म काम हुन सकेको छैन । यसको मार यहाँका जनताले खेप्दै आएका हुन् । अघिल्लो वर्ष पनि तिलाठीको दसगजा क्षेत्रमा भारतीय पक्षले पुनः बाँध बाँध्ने प्रयास गरेपछि नेपाली पक्षले त्यसको प्रतिकार गरेका थिए, जसमा केही नेपाली घाइतेसमेत भएका थिए ।
चुरेदेखि नेपालको २५ किलोमिटर दूरी तय गर्ने खाँडो नदी आसपासका जनताको टाउको दुखाइ बनेको छ । यसको नियन्त्रणका लागि चुरेदेखि तिलाठीसम्म बाँध बाँध्नुपर्ने आवश्यकता छ । काम अघि बढे पनि सम्पन्न हुन सकेको छैन । बाँध बाँधेर नेपाली भूमि डुबान हुनबाट जोगाउन बर्सेनि करोडौं रकम खर्च हुने गरेको छ । तर, न यहाँको समस्या समाधान भएको छ न त जनताको त्रास नै हट्न सकेको छ ।
यसपटकको बाढीले तिलाठीका करिब चार सय घर डुबानमा परे । घरको अन्नपात जोगाउन नसकेका बाढीपीडितलाई जिल्लामा राहत आउने क्रम जारी छ । तर, एकद्वार प्रणालीबाट त्यो राहत पीडितसम्म पुग्न नसकेको गुनासो तीव्र छ । अहिले विभिन्न राजनीतिक दलले जिल्लामा राहत भित्र्याइरहेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवासमेत बाढीपीडितलाई राहत घोषणा गरेर फर्किसक्नुभएको छ । तर, क्षणिक राहतले मात्र यो समस्याको दीर्घकालीन समाधान नहुने निश्चित छ । बर्से्नि बल्झिरहने समस्यालाई पूर्वसहमतिअनुसार समाधान गर्न दुवै देश तयार रहे मात्र तिलाठीले डुबानबाट मुक्ति पाउने स्थानीय बताउँछन् ।
–अन्नपूर्ण पोस्ट्बाट