विदेश स्वास्थ्य

डाक्टरको क्रेजी आइडिया, खुट्टाको बुढी औला काटेर हातमा जडान

डाक्टरको क्रेजी आइडिया, खुट्टाको बुढी औला काटेर हातमा जडान


असार ३० । अष्ट्रेलियाका एक ‘लिड सर्जन’ले २० वर्षीय युवकको खुट्टाको बूढीऔंला काटेर हातमा जोडिदिएका छन् ।

पश्चिम अष्ट्रेलियाका २० वर्षीय ज्याक मिचेल नाम गरेका ती युवकको बूढीऔंला भाँचिएपछि सिड्नी आँखा अस्पतालका लिड सर्जन डा.सीन निकलिनले युवककै खुट्टाको बूढीऔंला काटेर हातमा जोडिदिएका हुन् ।

मिचेलकाअनुसार गत अप्रिलमा आफ्नै फार्महाउसमा काम गरिरहेको समयमा गोरुले कुल्चिँदापछि उनको दाहिने हातको बूढीऔंला भाँचिएको थियो ।

उनले भने–‘गोरुले खुट्टाले बूढीऔंला कुल्चिदिएपछि भाँचिएको र त्यसपछि तत्काल बरफले सेकेको थिएँ ।’ यसअघि दुईपटक ८ घन्टासम्म पर्थको स्टेट क्यापिटल अस्पतालका सर्जनले औंलाको सर्जरी गरेपनि दुबै असफल भएको उनले बीबीसीलाई बताएका छन् ।

अन्त्यमा उनी चिकित्सककै सल्लाहमा दुई साताअघि सिड्नी आँखा अस्पताल आएका थिए । लिड सर्जन डा. सीन निकलिनले उनको हालत देखेपछि आफूलाई ‘क्रेजी आइडिया’ आएको बताए ।

उनले मिचेललाई खुट्टाको बूढीऔंला काटेर हातमा प्रतयारोपण गर्ने त ? भनेर सोधेका थिए । तर, मिचेलले शरीरको अरु अंगलाई चोट पुग्ने कुनैपनि कार्य नगर्ने बताएका थिए ।

डा. निकलिनले बारम्बार मिचेललाई सम्झाएपछि उनी तयार भए । अन्त्यमा डा. निकलिनको ‘क्रेजी आइडिया’अनुसार नै मिचेलको खुट्टाको बूढीऔंला काटेर ६ घन्टा लामो शल्यक्रियामार्फत् हातमा सफल प्रत्यारोपण गरिदिए ।

डा. निकलिनकाअनुसार उक्त प्रत्यारोपण गरिएको औंलाले काम गर्न मिचेलले करिब १२ महिना आराम गनुपर्नेछ । अस्पतालले यस्तो शल्यक्रिया पहिलोपटक गरिएको र यो निकै दुर्लभ शल्यक्रिया भएको उल्लेख गरेको छ ।

डा. निकलिनले मिचेललाई सुरुमा केही महिना हिँड्न अप्ठ्यारो हुने र पछि विस्तारै सन्तुलन मिल्ने बताए । उनले भने–‘अहिले मिचेलको औंला सुधारोन्मुख छ र उनको स्वास्थ्य सामान्य रहेको छ ।’

विशेष