विदेश

ट्रक र बस एक आपसमा ठोक्किाँदा कम्तीमा १० को मृत्यु, २३ घाइते

ट्रक र बस एक आपसमा ठोक्किाँदा कम्तीमा १० को मृत्यु, २३ घाइते

 

असार - ३१ । दक्षिणी भारतको तमिल नाडु राज्यमा भएको सडक दुर्घटनामा परी कम्तीमा १० व्यक्तिको मृत्यु भएको छ भने, २३ जना घाइते भएका प्रहरी स्रोतले जनाएको छ । यात्रुबहाक बस र स्टील ढुवानी काममा लागेको एक ट्रक आपसमा ठोक्किदा दुर्घटना भएको प्रहरीले शनिबार जनाएको छ ।

तमिल नाडु प्रान्तीय राजधानी चेन्नाइबाट ३७३ किलोमिटर दक्षिणतर्फ पर्ने थान्जाभुर जिल्लाको भल्लाम इलाकामा सो दुर्घटना भएको बताइएको छ । ‘गतरात भाल्लाम इलाकामा एउटा ट्रकले यात्रुबहाक बसलाई ठक्कर दिँदा १० जनाको मृत्यु हुनको साथै अन्य २३ जना घाइते भएका छन्' एक प्रहरी अधिकारीले भने ।

बसमा सवार कति यात्रुलाई ट्रकले ढुवानी गरेको स्टीलको छडले लागेर चोट लागेको छ , सो प्रष्ट नभएको पनि उनले थप जानकारी दिएको छ । राज्यद्वारा सञ्चालित यात्रुबहाक बसमा झण्डै ६० जना स्थानीय यात्रु सवार थिए । मृतकमध्ये आठ जना यात्रु रहेका छन् भने दुई जना चालक र उनका सहायक रेहका छन् ।

घाइते भएका सबैलाई थान्जाभुर मेडिकल कलेजको अस्पतालमा भर्ना गरिएको एक जना स्वास्थ्य अधिकारीले जानकारी दिएका छन् । प्रहरीले घटनाका बारेमा अनुसन्धान सुरु गरिसकिएको जनाएको छ । घटनाको सत्यतथ्य पत्ता लगाउन छानविन भइरहेको तर प्रारम्भिक विवरण अनुसार तीव्रगतिका कारण दुर्घटना भएको अनुमान पत्ता लागेका प्रहरी अधिकृतले बताएका छन् ।

स्थानीय सरकारले मृतकप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुका साथै घाइतेको सिघ्र स्वास्थ्य लाभको कामना गरेको छ । भारतमा सवारी साधनको कमजोर अवस्था, बिग्रिएको बाटो र ट्राफिक नियमको उलङ्घनलगायतका कारणले धेरै सवारी दुर्घटना हुने गरेका छन् ।

भारतको सडक यातायात मन्त्रालयले सन् २०१५ मा एक लाख ४६ हजार १३३ जनाको सडक दुर्घटनामा परी मृत्यु भएको जनाएको छ । त्यसैगरी पाँच लाख २७९ जना घाइते भएका थिए भने देशभरीमा पाँच लाख एक हजार ४२३ वटा दुर्घटना भएको थियो । विश्वस्वास्थ्य संगठनले सार्वजनिक गरेको “ग्लोबल रोड सेफ्टी रिपोर्ट २०१५” का अनुसार भारतमा सडक दुर्घटनामा परी वार्षिक औषत दुई लाख जनाको मृत्यु हुने गरेको छ ।

विशेष