News

राजधानीमै ढलले निल्यो बालिका

राजधानीमै ढलले निल्यो बालिका

साउन १ । ‘एकछिन खेलेर आउँछु’ भन्दै गएकी छोरीलाई सदाका लागि गुमाउनुपर्ला भनेर कुन बुबाआमाले सोच्लान् रु

नेपालटारका झंकनाथ फुयाँल दम्पतीले शुक्रबार साँझ ११ वर्षीया छोरीलाई सदाका लागि गुमाउनुपरेको छ ।

फुयाँल दम्पतीले छोरी विनीतालाई अव्यवस्थित ढलका कारण गुमाउनुपरेको हो ।

अपराह्न ४ बजेको थियो । स्थानीय युरेका माविमा कक्षा ३ मा अध्ययनरत् विनीताले भनिन्–‘आमा, हामी एकछिन खेल्छौं है १’ उनी सानिमाका छोरा ८ वर्षीय रिदमसँग खेल्दै थिइन् । उनका बुबा रामजानकी मिठाइ पसलमा व्यस्त थिए ।

‘सधैंजस्तै दिदी–भाइ खेल्न गए भनेर हामी ढुक्क थियौं तर १०–१५ मिनेटपछि रिदम आएर दिदीलाई ढलले बगायो भन्यो’–केही बेरअघि झरी परेर रोकिएको स्मरण गर्दै झंकनाथले शनिबार अन्नपूर्णसँग भने–‘हत्तपत्त पुग्दा केही थाहै भएन, सामुन्ने देखिने चौकीमा प्रहरीलाई फोन गरें, लगत्तै आएन । हाम्री छोरी बगाएको देख्नेहरूले लेदोसहितको भेलमा जाने आँटै गरेनछन् ।’

उनकाअनुसार विनीतालाई विष्णुमतीमा मिसिएको महादेव खोलाले चार–पाँच किलोमिटर पर पुर्‍याएको रहेछ । करिब दुई घन्टापछि प्रहरीसहित स्थानीयले उद्धार गरेको जानकारी दिँदै उनले छोरीको नाडी चलिरहेको सुनाए ।

त्यसलगत्तै पिपुल्स हस्पिटल पुर्‍याएर पानी बान्ता गराएपछि उनलाई त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लगिएको थियो । साँझ करिब ७ बजेतिर अस्पताल पुर्‍याउँदा चिकित्सकले विनीतालाई मृत घोषणा गरेका थिए ।

विनीता तारकेश्वरस्थित मामाघरमा बसेर कक्षा १ सम्म अध्ययन गरी दुई वर्षअघिमात्र बुबाआमासँग नेपालटार आएकी थिइन् ।

प्रहरी नायव निरीक्षक अर्जुन सोठारीको नेतृत्वमा गएको प्रहरी टोली चमति पुलनेर विनिताको उद्धार गरेको थियो ।

सोठारीले बालिकालाई नेपालटारबाट एक किलोमिटरभन्दा बढी बगाएको उल्लेख गर्दै जीवितै फेला पारे पनि लेदो पानी खाएकाले बान्ता गराउन कठिन भएको सुनाए ।

उनले बालिकालाई बगाएको देख्नेहरुले फोन गरेको उल्लेख गर्दै घटनास्थल पुग्दा बालाजुको उक्त पुलमुनि रहेको ढलको ठूलो भँगालो भएकाले तुरुन्त उद्धार गर्न नसकिएको जानकारी दिए ।

झंकनाथले विकास निर्माणमा हुने चरम लापरवाहीका कारण छोरी गुमाउनुपरेको गुनासो गरे । उनकाअनुसार गत वर्ष स्कुटी बगाउँदा चालक युवतीले जेनतेन ज्यान जोगाएकी थिइन् । सोही ठाउँमा पुनः अन्य दुईजना परेर मुस्किलले बाँचेका थिए ।

बालाजुबाट मनमैजु हुँदै नेपालटार जाने सडकको बीच भागमै ठूल्ठूला भ्वाङ छन् । पानी पर्दा उक्त सडक पोखरीजस्तो बन्ने र धमिलो पानी भरिएपछि भ्वाङको पत्तो नहुने हुँदा यात्रुले ज्यानै गुमाउनुपर्ने अवस्था छ ।

अन्नपूर्णपोस्ट

विशेष