बन्दै छ १२ तले भ्यूटावर (हेर्नुहोस् एनिमेसन भिडियो)
साउन १ । काठमाडौंको पुरानो बसर्पाकमा बाह्र तले भ्यू टावर र अत्याधुनिक बस टर्मिनल निर्माणको काम तीव्र गतिमा भइरहेको छ । आगामी २ वर्ष ६ महिनामा निर्माण सक्ने लक्ष्य लिएर काम गरिरहेको जलेश्वर स्वच्छन्द बिक्वे बिल्डर्सले जमिन मुनीको काम अन्तिम चरणमा पुर्याएको छ । पुरानो बसपार्कमा भ्यू टावर र अत्याधुनिक बस टर्मिनल निर्माण गर्ने काठमाडौं महानगरपालिकाको एक महत्वाकांक्षी योजना समयमै पूरा हुने निर्माण पक्षले दावी गरेको छ । झन्डै तीन अर्ब रुपैयाँ लगानीमा निर्माण हुने सो योजनाको प्रारम्भिक चरणको काम आगामी दुई महिनामा सकिने जलेश्वर स्वच्छन्द बिक्वे बिल्डर्सका अध्यक्ष मनोज भेटवालले जानकारी दिए ।
पुरानो बसपार्क रहेको साढे २३ रोपनी जमिन जलेश्वर स्वच्छन्दले ३० वर्षकालागि महानगरसँग भाडामा लिएको छ । यसबापत उसले महानगरलाई वाषिर्क २ करोड ३५ लाख बुझाउनेछ । ३० वर्षमा महानगरलाई हस्तान्तरण गर्ने गरी यो योजनाको काम ६ महिना अघि औपचारिक रुपमा सुरु भएको थियो । पहिलो चरणको काम सकिएपछि बाहिर देखिने गरि नै कामले गति लिने अध्यक्ष भेटवालले बताए । यस क्षेत्रमा निर्माण हुने भ्यूटावरमा ६ सय वटा कोठा हुनेछन् । भूमिगत रुपमा अत्याधुनिक बस टर्मिनल हुनेछ ।
बस टर्मिनल नेपालकै पहिलो र आधुनिक हुनेछ । यस टर्मिनल हुँदै आवतजावत गर्ने सवारी साधनहरुले निश्चित रकम तिर्नु पर्नेछ । तर त्यो चलन चल्तिको दर भन्दा धेरै महंगो भने हुने छैन । १२ तल्लो भ्यूटावरको निर्माण भविश्यमा ३३ तल्लासम्म बनाउन सकिने गरी निर्माण गरिँदैछ । हाललाई १२ तल्ला बनाउने अनुमति काठमाडौं महानगर पालिकाले दिएको छ । १२ तल्लाको भ्यू टावरको सबैभन्दा माथिल्लो भागबाट काठमाडौ हेर्न सकिनेछ भने बाँकी तल्लाहरुमा सिनेमा घर, खेलकुद कक्ष, सपिङ सेन्टर आदि हुनेछन् । आगामी दुई वर्ष ६ महिनामा भ्यू टावरको माथिल्लो तल्लामा बसेर मानिसहरुले चिया कफि पिउँदै काठमाडौको सुन्दर दृश्य हेर्न पाउने छन् ।
तोकिएको समयमै जलेश्वर स्वच्छन्द बिक्वेले भ्यू टावरको काम सम्पन्न गरेमा यसको लाभ लगानी कर्ता र काठमार्डौ महानगरपालिका दुवैलाई हुनेछ ।